काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो शक्तिको अवमूल्यन नगर्न गठबन्धनकै अन्य दललाई चेतावनी दिएका छन्। शक्तिबारे भ्रममा परेर आफूहरुमाथि अपमानपूर्ण व्यवहार भइरहेको भन्दै उनले सचेत गराएका हुन्।
'हामीले भन्ने गरेका छौँ, आफ्नो शक्तिको अति मूल्यांकन गर्ने काम नगर्नुस्। र, हाम्रो शक्तिको अवमूल्यन गर्ने काम पनि नगर्नुस्। हाम्रो शक्ति निर्णायक शक्तिको रुपमा रहने गरेको छ', शनिबार सो पार्टीको प्रदेश सम्पर्क कमिटी भेलालाई काठमाडौंमा सम्बोधन गर्दै उनले भने।
उनले आफ्नो पार्टी निर्णायक शक्ति भएकाले नै केपी ओलीको समूहलाई बादशाहलाई घोडाबाट झारेजसरी सत्ताको उचाइबाट भूइँमा पछार्नका लागि निर्णायक भूमिका खेलेको बताए। 'यो चेतना भया। यो होश होस्। यो ख्याल गर्नुस्', उनले भने।
उनले बालुवाटारमा गठबन्धनको बैठकमा पोखरा महानगरपालिकाको मेयरमा आफ्नो पार्टीको दाबी सम्बन्धमा नकारात्मक टिप्पणी भएकोमा पनि असन्तुष्टि जनाए। 'पोखरामा मात्रै हाम्रा झन्डै ८ हजार पार्टी कार्यकर्ताहरु छन्। ७/८ हजार कार्यकर्ता हुनु सजिलो कुरा हो? मतदाता होइन, कार्यकर्ता। संगठित र सक्रिय कार्यकर्ता। जनवर्गीय संगठनको पनि जोड्ने हो भने १२ हजार पुग्ने रहेछन्। अनि एकीकृत समाजवादीको केही अर्थ छैन भनेर गफ हाँक्ने?', उनको प्रश्न थियो।
अध्यक्ष नेपालले अरु पार्टीले २०७४ सालको चुनावमा आ-आफ्नै पार्टीको तर्फबाट भाग लिएको भए पनि आफ्नो पार्टीले एमालेको रुपमा भाग लिएको स्मरण गराउँदै एमालेको सफलतामा आफूहरुको हक लाग्ने बताए। 'हाम्रो हक एमालेले प्राप्त गरेको सफलतामा हक लाग्छ। पहिलो हक लाग्छ। अरुले चाहेर पनि एमालेको मान्छे तान्न सक्दैन। जति हामी आकर्षित गर्न सक्छौँ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।