काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीका 'सम्मानित नेता' झलनाथ खनालले केपी शर्मा ओलीले ४२ महिना सरकारको नेतृत्व गर्दा भ्रष्टाचार मौलाएको बताएका छन्।
नेकपा एकीकृत समाजवादीको प्रदेश सम्पर्क कमिटी भेलालाई सम्बोधन गर्दै शनिबार उनले ओलीकै पालामा भ्रष्टाचारको उद्योग सबैभन्दा बढी फैलिएको बताए। ओलीले देशमा समाजवादको आधार तयार गर्ने र देशलाई समाजवादको दिशातर्फ अगाडि बढाउनेभन्दा प्राप्त भएको पुँजीवादी व्यवस्थामा पनि प्वाल पार्ने काम गरेको उनको आरोप छ।
'सबैभन्दा पहिलो कुरा त त्यो एमालेको सरकार नै बनेन। केपी ओलीको गुटको सरकार बन्यो। नितान्त गुटको सरकार। त्यो गुटले पार्टीलाई कहिल्यै पनि प्रतिनिधित्व गर्न सकेन। न कम्युनिस्ट आन्दोलनलाई प्रतिनिधित्व गर्न सक्यो। गुटको सरकारले गर्न सम्भव पनि थिएन। र गुटमा पनि कतिपय मान्छे ओठ निचोर्दा दूध आउने खालका अनुभवहीन मान्छेहरुलाई समेत लगेर क्याबिनेट-क्याबिनेटका मन्त्रालय दिइयो। जसले न त्यो मन्त्रालय सञ्चालन गर्न सके, खालि भ्रष्टाचारका अड्डा बनाउनु बाहेक अरु केही पनि काम भएन', उनले भने।
ओली सरकारले संकटको आधार खडा गर्ने काम गरेको खनालको आरोप थियो। 'त्यही ४२ महिने सरकारले गरेका बेथिति र अधोगतिका कारणले अहिले हेर्नुस्, अर्थतन्त्र संकटतर्फ जाँदैछ। यो अर्थतन्त्र संकटमा जानुको एउटा कारण भनेको ४२ महिने बेथितिको सरकारको कारणले हो', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।