काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीले जेठ अन्तिम साता हुने एएफसी एसियन कपअन्तर्गत तेस्रो चरणको छनोटका लागि तयारी सुरू गरिसकेको छ।
शनिबार दशरथ रंगशालामा दोस्रो दिनको अभ्यास सकिएपछि नेपाली टोलीका उपकप्तान रोहित चन्दले छनोटमा उत्कृष्ट प्रदर्शन गर्नका लागि योजनावद्ध तरिकाले तयारी गरिरहेको बताएका छन्।
‘खेलाडीको रुपमा सबै प्रतियोगिता महत्वपूर्ण हुन्छ। अन्य प्रतियोगिता जस्तै यो पनि हाम्रो लागि महत्वपूर्ण छ । हाम्रो फोकस एसियन छनोटमा हो। त्यही हिसाबले तयारी गरिरहेका छौं,’ उनले भने।
नेपाल छनोटमा समूह ‘ए’ मा रहेको छ। यही समूहमा जोर्डन, कुवेत र इन्डोनेसिया जस्ता बलिया टोली छन्। यो समूहका खेलहरू ८ जुनदेखि १४ जुनसम्म कुवेतमा हुनेछ।
पहिलो दिनको प्रशिक्षणपछि दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल निक्कै बलियो समूहमा रहेको बताउँदै धेरै अपेक्षा राख्नु उपयुक्त नहुने बताएका थिए।
तर,छनोटको सम्भावना कम भएपनि उत्कृष्ट खेल प्रदर्शन गर्ने रोहित बताउँछन्। ‘प्रशिक्षकले भनेअनुसार हाम्रो सम्भावना एकदमै कम छ, तर हामीले हाम्रो सक्ने दिने हो। आशा छ हामीले राम्रो गर्छौं,’ उनले भने।
यता, नेपाली टोलीका नियमित सदस्य सुजल श्रेष्ठ प्रशिक्षकको अभिव्यक्तिले टोलीलाई कुनैपनि नकारात्मक असर नगरेको बताउँदै छनोट चरणमा गर्व गर्न लायक प्रदर्शन गर्ने बताए।
‘युवा र सिनियरको मिश्रित भएर टिम राम्रो देखिन्छ। प्रशिक्षकले हिजो भनेका कुरा हामीले पढ्यौं ।प्रशिक्षकले छनोट हुन्नौं भन्नु भएको छ, तर मनमा हाम्रो लक्ष्य छनोट हुने नै छ। देशको लागि गर्व गर्न लायक खेल प्रस्तुत गर्छौ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।