काठमाडौं– लामो समय राजसंस्था पुनःस्थापनालाई केन्द्रमा राखेर राजनीति गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब राजा फर्किने सम्भावना नरहेको बताएका छन्। यद्यपि आफूलाई राजाको माया लाग्ने र राजसंस्थाप्रति सम्मान पनि भएको उनको भनाइ छ।
शनिबार ट्विटरमा उनले लेखेका छन्- राष्ट्रिय प्रजातन्त्र पार्टी र सो पार्टीका नेताहरुसँग मेरो गुनासो, वैमनस्यता छैन। तपाईंहरुको धैर्यता रहुञ्जेल राजा बोक्नोस्, मेरो शुभकामना छ। विभिन्न कारणवश मैले राजाको एजेण्डा छोडेँ। तितो लाग्ला, अब राजा फर्कने सम्भावना सकियो।
थापाले पार्टीहरु असफल भएर राजा नआउने बताएका छन्। 'एउटा पार्टी असफल भए अर्को आउँछ। राजा फर्कने अरु नै कारण थिए। राजाले नै त्यो बाटो बन्द गरिदिए', उनले लेखेका छन्।
उनले असम्भव एजेण्डा बोकेर नयाँ पिँढीलाई भ्रममा पार्न नहुने पनि बताएका छन्। असम्भव अजेण्डा बोकेर हिन्दू राष्ट्रलाई बन्धक बनाउन नहुने र २/३ प्रतिशत भोटको जगमा राप्रपा ठूलो पनि नहुने उनको भनाइ छ।
उनले राप्रपाका नेता तथा कार्यकर्तालाई भनेका छन्- 'मलाई थाहा छ, अन्ततः तपाईंहरु मेरै बाटोमा आउनुपर्छ। अहिले गाली गलौज/आरोपहरु खेपेर भए पनि तपाईंहरुको लागि म बलियो घर बनाएर राखिदिनेछु। पहिले पनि मैले बनाएकै घरमा तपाईंहरु आएको हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।