काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले किन नेकपा एमालेबाट विद्रोह गर्नुपर्यो भनेर जनतामाझ पुर्याउन कार्यकर्तालाई आह्वान गरेका छन्।
शनिबार स्थानीय तहको चुनावबारे भिडियो सन्देश जारी गर्दै अध्यक्ष नेपालले आफ्ना कार्यकर्तालाई भनेका छन्- तपाईंहरु पार्टीका नीति र कार्यक्रमलाई आत्मसात् गरेर जनताको माझमा पुर्याउने काम गर्नुस्। यो पार्टी गठनको औचित्य के हो? हामीले किन पुरानो पार्टी नेकपा एमालेबाट विद्रोह गर्नुपर्यो? विद्रोहको के बाध्यता आइलाग्यो? त्यसलाई प्रष्ट पार्नुस्। तथ्यहरु प्रमाणहरु पस्किनुस्।
उनले तथ्य र प्रमाण पस्किएपछि विपक्षीले केही बोल्न नसक्ने पनि बताएका छन्। उनले कार्यकर्तालाई एक–एक घटनाहरुलाई सम्झिन र नोट गर्न पनि भनेका छन्। 'त्यो जनताको माझमा पुर्याउनुस्। विपक्षीले लगाउने झुटा आरोपहरुलाई चोटिलो जवाफ दिनुस्', अध्यक्ष नेपालको आह्वान छ।
उनले आफूहरुले आफ्नो नीति कम्युनिस्ट आन्दोलनको हितका खातिर अगाडि बढाएको दाबी गरेका छन्। आफ्नो नीति र कार्यक्रम नेपालमा समाजवाद निर्माण गर्नका लागि भएको उनको भनाइ छ। 'नेपालमा वैज्ञानिक समाजवाद ल्याउने काम कम्युनिस्ट पार्टी बाहेक अरु कसैले सक्दैनन्', उनले भनेका छन्।
एमालेको नाम नलिइ उनले सो पार्टीभित्र कम्युनिस्टको आवरणमा गहिरो र गम्भीर विचलन देखा परेको बताए। 'उनीहरुले बाटो बिराएका छन्। आत्मसमर्पण गरेका छन्। दक्षिणपन्थी भासमा भासिएका छन्। र उनीहरुमा चरम व्यक्तिवाद देखिएको छ। व्यक्तिवाद सत्तामा पुगिसकेपछि अहंकार र दम्भमा परिणत भएको छ', उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।