धनगढी– टीकापुर हत्याकाण्डको मुद्दामा हाल जेल जीवन विताइरहेका निलम्बित संघीय सांसद् रेशम चौधरीको 'पकड क्षेत्र' मानिने कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीबाट रामलाल डंगोरा थारु उम्मेदवार हुने भएका छन्।
नागरिक अन्मुक्ति पार्टी रेशमकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीको नेतृत्वमा दर्ता भएको दल हो। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रामलाल डंगोरा थारु उक्त पार्टीबाट टीकापुर नगरको मेयर उठ्ने पक्का भएको छ।
मेयरमा उठ्न लागेका रामलाल यसअघि माओवादी केन्द्रमा सक्रिय थिए। उनी २०७४ सालको निर्वाचनमा टीकापुर नगरपालिकाको वडा नम्बर ७ मा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। त्यतिबेला उनले ९०२ मत प्राप्त गरेका थिए।
नगर प्रमुखका उम्मेदवार रामलाल डंगोरा थारुले भने, ‘हाम्रो पार्टी नयाँ हो । अहिले संगठन विस्तारसँगै प्रचार–प्रसारमा जोड दिइरहेका छौं ।’ उनले टीकापुर घटनालाई राजनीतिक मुद्दा बनाइनुपर्ने, थारु अधिकार र पहिचान सुनिश्चित गरिनुपर्ने, समाजभित्र रहेका कुरीतिको अन्त्य गर्नुपर्ने लगायतका मुद्दा बोकेर प्रचार–प्रसार गरिरहेको बताए।
‘टीकापुर नगरपालिकाका सबै वडामा हाम्रो उम्मेदवारी रहने छ। हामी प्यानल बनाएरै चुनावमा जाने छौं,’ उनले भने, ‘हामीले आन्तरिक रुपमा सबै तयारी गरिसकेका छौं। अब सार्वजनिक गर्नमात्र बाँकी रहेको छ।’
मेयरमा निर्वाचित हुनका लागि टीकापुरका कूल मतदातामध्ये ४२ प्रतिशत 'हिस्सा ओगटेको' थारु समूदाय नै प्रमुख आधार रहेको रामलालको भनाइ छ।
जनता समाजवादी पार्टी (जसपा) विभाजित हुँदा रेशम चौधरी तटस्थ बसेका थिए। त्यसपछि उनले पत्नीको नेतृत्वमा नयाँ दल खोलेका थिए। रेशमकी पत्नी रञ्जिताको नेतृत्वमा दर्ता भएको पार्टीले स्थानीय तहको निर्वाचनमा टीकापुरबाट जित निकाल्ने लक्ष्यका साथ तयारी तीब्र बनाएको छ।
तीन महिना अघि दर्ता भएको सो पार्टीले कैलालीका अन्य स्थानीय तहमा पनि उम्मेदवार उठाउने तयारी गरेको छ।
पार्टीका कैलाली जिल्ला समिति अध्यक्ष कैलाश चौधरीले शुक्रबारसम्म तीन वटा स्थानीय तहका उम्मेदवारहरुको टुङ्गो लगाइसकेको बताए । ‘हामीले टीकापुर, जानकि गाउँपालिका र भजनी नगरपालिकाको प्रमुख पदको उम्मेदवारको टुङ्गो लगाईसकेका छौं,’ उनले भने, ‘केही स्थानीय तहमा आकांक्षी धेरै रहेकाले सहमतिको प्रयास भइरहेको छ। शनिबारसम्म हामीले सबै उम्मेदवारको नाम टुङ्गो लगाइसक्छौं।’
अन्य दललाई समस्या
२०७४ सालको निर्वाचनमा टीकापुर नगरपालिकामा नगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए भने उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए। सो नगरपालिकाका तत्कालीन मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) पार्टीका उम्मेदवार दोस्रो थिए। २०७४ सालको निर्वाचनमा ३९ हजार १९२ मतदाता रहेकोमा २६ हजार ९२९ मत खसेको थियो।
सोमध्ये नेकपा एमालेका नगर प्रमुखका उम्मेदवार तपेन्द्र रावलले ५ हजार ९५९ मत प्राप्त गरि निर्वाचित भएका थिए भने उनका प्रतिष्पर्धी तत्कालीन मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) पार्टीका उम्मेदवार लौटन चौधरीले ५ हजार ५३४ मत प्राप्त गरेका थिए । सो स्थानीय तहमा नेपाली कांग्रेसका उम्मेदवार तेस्रो र माओवादी केन्द्रका उम्मेदवार चौथो बनेका थिए।
आगामी स्थानीय तहको निर्वाचनमा टीकापुर नगरपालिकामा ५२ हजार बढी मतदाता रहेका छन्। जिल्ला निर्वाचन कार्यालय कैलालीका अनुसार सो नगरपालिकामा २५ हजार ६४ पुरुष, २७ हजार ८०७ महिला र १ अन्य गरि ५२ हजार ८७२ मतदाता रहेका छन्।
सो नगरपालिकामा १६ वटा मतदान स्थल र ५७ मतदान केन्द्र रहने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।