कोलम्बो–आर्थिक तथा राजनीतिक संकटमा परेको श्रीलंकामा विद्युत कटौतीको समय अझै बढ्ने भएको छ।
सरकारी अधिकारीहरुले विद्युत कटौतीसम्बन्धी नयाँ तालिका सार्वजनिक गर्दै शनिबारदेखि विद्युत कटौतीको समय बढेको जानकारी दिएका हुन्।
अबदेखि हरेक दिन बिहान ९ देखि बेलुका ६ बजेसम्म बिजुली कटौती हुने भएको छ। रातिको समयमा भने बिजुली कटौती नगर्ने तालिका बनाइएको छ।
यसअघिको तालिकाभन्दा दुई घण्टा बढी बिजुली कटौती हुने भएको सरकारी अधिकारीहरूले शुक्रबार जनाएका छन् ।
श्रीलंकामा आर्थिक संकट उत्पन्न भएपछि विभिन्न बस्तु तथा सेवाको अभाव भएको छ भने मूल्यवृद्धि पनि अत्यधिक भएको छ।
वस्तु तथा सेवाको अभाव र मूल्यवृद्धि भएपछि आम नागरिकले आन्दोलन गरेपछि राजनीतिक संकट पनि उत्पन्न भएको छ ।
अभाव, मूल्यवृद्धि र आन्दोलन चर्किरहेका बेला तत्कालीन सबै मन्त्रीहरुले राजीनामा दिएपछि अहिले नयाँ मन्त्रीहरु नियुक्त गरेर सरकार सञ्चालन गरिएको छ ।
आर्थिक संकटका कारण कतिपय अत्यावश्यक कामसमेत रोकिएको अधिकारीहरुले जनाएका छन् । स्वास्थ्य मन्त्रालयले कतिपय औषधिसमेत अभाव भएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।