काठमाडौं– व्यवस्थापिका संसद् अन्तर्गतको उद्योग तथा वाणिज्य समितिले सुपारी आयात खुला गर्न दिन सरकारलाई निर्देशन तयारी गरेको छ।
समितिले बनाएको उपसमितिको सुझाव अनुसार यस्तो निर्देशन दिन लागिएको हो। शुक्रबार साना व्यवसायीसहित उद्योग मन्त्री एवं सचिवहरुसँग छलफल गरेरे सुपारी आयात खोल्न सरकारलाई निर्देशन दिने जानकारी दिएको हो।
नेपाल सरकारले उक्त समितिकै निर्देशन अनुसार सरकारले सुपारी आयात रोक्दै आएको छ। समितिले सुपारी आयातलाई व्यवस्थित बनाइ आयात खुला गर्न सरकारलाई निर्देशन दिन लागिएको हो।
समिति सभापति बिमल प्रसाद श्रीवास्तवले उपसमितिको अध्ययन प्रतिवेदन, उद्योगी एवं साना व्यवसायीहरुसँगको छलफलका आधारमा आयात खुला गर्न दिनुपर्ने निष्कर्षमा समिति पुगेको जानकारी दिएका छन्।
समिति सदस्य प्रकाश रसाइलीको संयोजकत्वमा एक अध्ययन समिति बनाइएको थियो। उपसमितिले गुड्खा उद्योगी, पान व्यवसायीलगायत सरोकारवालाहरुसँग छलफल एवं उद्योगहरुको अनुगमन गरेको रसाइलीले बताए।
समतिले अध्ययन क्रममा नेपालमा सुपारीको माग कति हो भन्ने एकिन तथ्याक सरकारसंग नभएको जानकारी दिएका छन्। यसअघि सुपारी आयात गर्दा अनुमानको भरमा यसअघिको सरकारले निश्चित ट्रेडरलाई मात्रै सुपारी आयात गर्न दिएको पाइएको उनले बताए।
उनले निश्चित व्यापारीले सुपारी आयात गर्ने गरेको र त्यस्ता ब्यापारीले आयात गरेको सुपारी उधोगीहरुको पहुँचमा पुग्न नसकेको जानकारी दिएका छन्। उद्योग मन्त्रालयले सुपारीको माग कति भन्ने अध्ययन गरी झापा, मोरङ, सुनसरीका क्षेत्रमा सुपारी उत्पादन बढाउन सहुलियत दिई सुपारी उत्पादनलाई प्रबद्र्धन गर्नसमेत उनले आग्रह गरे। यस्तै उनले पान पसललाई करको दायरामा ल्याउन समेत आग्रह गरे।
शुक्रबारको समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले निश्चित व्यापारीले सुपारी आयात गर्ने तर उद्योगहरुले नपाउने अवस्था रहेको बताए। सोही कारण उद्योगको क्षमता अनुुसार सुपारी आयातलाई व्यवस्थित गर्न खोजिएको उनले बताए।
‘उद्योगहरुले नै उनीहरुको क्षमता अनुसार सुपारी ल्याउन पाउनुपर्छ भन्ने सरकारको तयारी ठीक रहेछ। उद्योगका लागि चाहिने कच्चा पदार्थ आयात रोक्न हुँदैन भन्ने मान्यता सरकारको हो’ उनले भने, ‘तर, अहिले विदेशी मुद्रा संचितीको अवस्थालाई समेत ध्यान दिनुपर्नेछ।’
समितिको यसअघिको निर्देशन अनुसार सुपारी आयात रोकिएको भन्दै उनले समितिको निर्देशन एवं सुझाव अनुसार अगाडि बढ्न तयार रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।