फाइल तस्बिर
काठमाडौं- मन्त्रिपरिषद्ले सिफारिस गरेका २० जना विभिन्न देशका राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ।
संसदीय सुनुवाइ समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकले मन्त्रिपरिषदले सिफारिस गरेका विभिन्न देशका २० जना राजदूतहरु उपर उजुरी आह्वान गरेको हो।
१० दिन समय दिएर सरकारले सिफारिस गरेर पठाएको २० जना राजदूतहरुमाथि उजुरी आह्वान गर्ने निर्णय भएको समितिका सभापति लक्ष्मण लाल कर्णले जानकारी दिए।
'मन्त्रिपरिषदले २० जना राजदूतहरुको सिफारिस गरेको छ। उनीहरुको बारेमा समितिको बैठक बसि उजुरी आह्वान गर्यौं। १० दिनको समय दियौं। १० दिन भित्र जसलाई उपयुक्त वा अनुपयुक्त के लाग्छ? त्यसबारे जनताबाट उजुरी मागेका छौं' सभापति कर्णले भने, 'यो उजुरीको लागि आज समितिमा सर्वसम्मतिले निर्णय गर्यौं। र, यो उजुरी अनुसार नै १० दिन वितेपछि सुनुवाइको काममा लाग्छौं।'
गत चैत्र २४ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विष्णुपुकार श्रेष्ठलाई चीन, दानबहादुर तामाङलाई दक्षिण अफ्रिका, शर्मिला पराजुली ढकाललाई स्पेन, बासुदेव मिश्रलाई श्रीलंका, मिलन तुलाधरलाई रुस, कैलाश पोखरेललाई अष्ट्रेलियाका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो।
त्यसैगरी डिल्लीराज पौडेललाई मलेशिया, शान्ता रिजाललाई इजरायल, ज्योति प्याकुरेललाई दक्षिण कोरिया, रामसुरज राय यादवलाई डेनमार्क र नवराज सुवेदीलाई साउदी अरवका लागि राजदूत सिफारिस गरिएको थियो। घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, डोरनाथ अर्याल, सुशीलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले, दुर्गाबहादुर सुवेदी र तीर्थराज वाग्लेको नाम पनि राजदूतका लागि सिफारिस भएको थियो।
प्रस्तावित राजदूतहरुको उजुरीमाथि पनि संसदीय समितिले छानबिन गर्नेछ। त्यसपछि उनीहरुको योग्यता, क्षमता र कार्ययोजनाको मूल्यांकन गरी समितिले उनीहरुको नाम अनुमोदन गर्नेछ।
यसरी अनुमोदन भएका राजदूतहरुलाई राष्ट्रपतिले नियुक्त दिर्ने संवैधानिक व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।