काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष गरिएको संसद् विघटन जस्तो प्रतिगामी कदमविरुद्ध थालेको आन्दोलनले नेकपा माओवादी केन्द्र थप सशक्त बनेको बताएका छन्।
पेरिसडाँडामा विभिन्न पार्टी परित्याग गरेर माओवादी केन्द्र प्रवेश गरेकालाई स्वागत गर्दै शुक्रबार प्रचण्डले यस्तो बताएका हुन्।
‘यो देशको विकास र नेतृत्व गर्ने तागद पनि नेकपा माओवादी हो भन्ने सबैले अहिले बुझेका छन्। केही समय पहिले भ्रम थियो माओवादीको बारेमा,’ उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने जुन षडयन्त्र भयो। त्यसविरुद्ध जब हामीले संघर्ष गर्यौं त्यसबाट नै नेकपा माओवादी केन्द्र थप शसक्त भयो।’
उनले माओवादी केन्द्र प्रवेश गरेका नेता कार्यकर्ताहरुको उचित सम्मान, कार्यविभाजन र जिम्मेवारी दिइने बताए। ‘आसन्न निर्वाचनको मुखमा छौं। तपाईंहरुले गरेको फैसला सही छ। पार्टीमा हार्दिक स्वागत पनि गर्न चाहन्छु,’ उनले भने।
उनले एमाले अध्यक्ष केपी शर्मा ओली नुवाकोट गएकै दिन त्यहाँ ४३ वर्षसम्म एमालेमा रहेका माधव पाण्डेको नेतृत्वमा सयौं कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्नु सुखद् संयोग भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।