काठमाडौं– राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एएफसी एसिया कप छनोट अघि नेपालले तीन अभ्यास खेल खेल्ने तयारी गरिरहेको बताएका छन्।
शुक्रबार भएको पत्रकार सम्मेलनमा प्रशिक्षक अल्मुताइरीले छनोटको तयारीका लागि नेपालले अभ्यास खेल खेल्न लागेको जानकारी दिएका हुन्।
‘हामीले अभ्यासका लागि तीन टिमसँग खेल्ने तयारी गरेका छौं,’ उनले भने, ‘नेपालले अफगानिस्तान, ओमान र यमनसँग अभ्यास खेल खेल्ने तायरी गरेको छ।’
उनले अफगानिस्तानसँग खेल्ने कुरा ९० प्रतिशत पूरा भएको र बाँकी दुई टिमसँग पनि कुरा चलिरहेको जानकारी दिए। यता नेपाली टिमका ब्यवस्थापक मधुसुदन उपाध्यायले प्रस्ताव गरेको टोलीसँग अभ्यास खेल खेल्न तयारी भइरहेको बताए।
एएफसी एसिया कप छनोटको तेस्रो चरणको तयारीका लागि शुक्रबारबाट नेपाली टोलीले दशरथ रंगशालामा प्रशिक्षण सुरु गरेको छ। नेपाली टिमले बिहानी सत्रको अभ्यास दशरथ रंगशालामा गर्नेछ भने साँझ सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।