काठमाडौं– कांग्रेस गफ नभई काम गर्ने पार्टी भएको प्रवक्ता डा प्रकाशशरण महतले बताएका छन्। नुवाकोटको दुप्चेश्वरमा नयाँवर्षका अवसरमा आयोजित दोस्रो आरडब्लु समर स्लाम रेस्लिङ प्रतियोगिताको उद्घाटन गर्दै प्रवक्ता महतले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउने गरी काम गर्न आग्रह गरे।
‘नुवाकोट जिल्लामात्र नभई देशका सबै जिल्लामा विकासको मूल फुटाउने काम कांग्रेसले सुरु गरेको हो,’ उनले भने, ‘हामी गफ गर्ने पाटी होइनौं, अरु गफ गर्ने र हल्लाखल्ला बढी गर्छन्। कांग्रेस काम गर्नमा व्यस्त हुन्छ। चुनावमा गफ गर्नेलाई नभई काम गर्ने पार्टीलाई जनताले विश्वास गर्नुपर्छ।’
नुवाकोटको दुप्चेश्वर महादेव मन्दिरलाई देशका प्रसिद्ध १० शक्तिपीठमध्येको एक बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे। ‘मन्दिरको संरक्षणको लागि गुरु योजना बनाएर पुरातात्त्विक मापदण्डअनुसार आवश्यक संरचना निर्माण गर्नुपर्दछ,’ उनले भने।
दुप्चेश्वर गाँउपालिका–१ घ्याङफेदीमा लामो समयदेखि रहेको गोसाईंकुण्ड घ्याङगुठीको समस्या, नुवाकोटको सूर्यकुण्ड हुँदै गोसाईंकुण्ड जाने पदमार्गको व्यवस्थापन, जलविद्युत् आयोजना निर्माणले धार्मिक सम्पदामा पुग्ने असरप्रति सम्बन्धित पक्षलाई सजग गराउन सहयोग गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।