काठमाडौं– रुसी युद्धपोत मोस्कभा डुबेको युक्रेनी सेनाले दाबी गरेको छ। युक्रेनले नेप्च्युन मिसाइल आक्रमणपछि रुसी युद्धपोत डुबेको दाबी गरेको हो। तर, रुसको रक्षा मन्त्रालयले उक्त दाबीलाई अस्वीकार गरेको छ।
रुसले आगलागीका कारण मोस्कभामा क्षति पुगेको र त्यहाँ रहेको हतियार पनि बिस्फोट भएको दाबी गरेको छ।
युक्रेनको दक्षिणी सैन्य कमाण्डले फेसबुकमा एक पोस्टमा क्षेप्यास्त्र आक्रमणपछि रुसी युद्धपोतमा आगो लागेको र ठूलो क्षति भएको लेखेका थिए।
गोलाबारुद बिस्फोट र खराब मौसमका कारण रुसी उद्धार कार्य प्रभावित भएको र अहिले यो युद्धपोत डुबिरहेको दाबी पनि गरिएको छ।
यता, रुसले आफ्नो विज्ञप्तिमा मोस्कभा युद्धपोतमा लागेको आगो नियन्त्रणमा रहेको र थप बिस्फोट नभएको जनाएको छ।
रुसी अधिकारीहरूले युद्धपोतका चालक दलका सदस्यहरूलाई बाहिर निकालिएको र मोस्कभालाई बन्दरगाहमा लैजाने प्रयास भइरहेको बताएका छन्। अधिकारीहरूले युद्धपोतमा आगलागीको कारणबारे अनुसन्धान भइरहेको पनि बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।