काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०७९ देशको राजनीतिक इतिहासमा महत्त्वपूर्ण वर्ष हुने बताएका छन्।
नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै उनले २०७९ सङ्घ, प्रदेश र स्थानीय तहको चुनावी वर्षका रुपमा रहेकाले देशको राजनीतिक इतिहासमा महत्त्वपूर्ण वर्ष हुने बताएका हुन्। शुभकामना सन्देशमा उनले संविधान, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि आफूहरु जनताको साथमा हुने बताएका छन्।
‘समाजको शान्तिपूर्ण रूपान्तरण, लोकतान्त्रिक प्रतिस्पर्धा र जनताको शक्तिमाथि आधारित भएर नै सफलता प्राप्त गर्नेछौं भन्नेमा हामी विश्वस्त छौं, यी कार्यभार सम्पन्न गर्न हामीले पाँच दलीय गठबन्धन बनाएका हौं,’ उनले सन्देशमा भनेका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले जारी गरेको सन्देशमा आजसम्मका जनसङ्घर्ष जनआन्दोलन र जनक्रान्तिबाट प्राप्त उपलब्धिको रक्षा एवं विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गरी सामाजिक–आर्थिक–सांस्कृतिक रूपान्तरणमार्फत समाजवादी आन्दोलन सफल बनाउन सम्पूर्ण देशवासीको निरन्तर साथ रहनेमा विश्वास व्यक्त गरेका छन्।
‘बितेको वर्ष २०७८ साल हामीले देश, लोकतन्त्र र संविधान रक्षाका लागि क्रान्तिकारी विद्रोह गरेको वर्षका रुपमा स्मरणीय रहनेछ,’ उनले भनेका छन्, ‘नयाँ वर्ष २०७९ को सुरुवातसँगै हामीले गत वर्ष गरेको त्यो विद्रोहलाई जनताबाट अनुमोदन गराउने ऐतिहासिक अवसर नजिक आएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।