काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ सालको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गरेकी छन्।
नयाँ वर्षको उपलक्षमा राष्ट्रपति भण्डारीले बिहीबार शुभकामना सन्देश जारी गर्दै विगतको कठोर अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गर्न आवश्यक रहेको बताएकी छन्।
हरेक वर्ष बढिरहेको व्यापार असन्तुलन कम गर्न स्वदेशी उत्पादनलाई बढावा दिनुका साथै उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने राष्ट्रपतिद्वारा जारी सन्देशमा भनिएको छ।
ठूलो संख्यामा विदेसिने युवा शक्तिलाई स्वदेशकै विकासमा आबद्ध गर्न रोजगारी र अवसरको सिर्जना गर्ने नीति कार्यान्वयन गर्न ढिलाइ गर्न नहुने राष्ट्रपति भण्डारीको जोड छ।
विक्रम संवत् २०७९ निर्वाचनको वर्ष बन्न गइरहेको उल्लेख गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा जनताले आफ्नो मताधिकारको प्रयोग गर्न पाउनु लोकतन्त्रको उच्चतम् अभ्यास भएको राष्ट्रपति भण्डारीको भनाइ छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।