काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले नववर्ष २०७९ साल प्रारम्भका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, समृद्धि, सुस्वास्थ्य र सफलताको हार्दिक शुभकामना व्यक्त गरेका छन्। २०७८ सालमा आउका अप्ठ्यारालाई हामीले सुझबुझपूर्ण ढङ्गले निकास दिँदै गएको उल्लेख गर्दै उनले भविष्यका लागि आशावादी बनाएर २०७८ बिदा भएको सन्देशमा उल्लेख गरेका छन्।
विसं २०७९ चुनावी वर्ष रहेकाले आम नागरिकका लागि आफ्नो अमूल्य मताधिकारको सही प्रयोग गर्ने एवं राजनीतिक दलका लागि आफ्ना नीति र नेतृत्वको परीक्षाको वर्ष बन्ने विश्वास पनि सभामुख सापकोटाले शुभकामना सन्देशमार्फत व्यक्त गरेका छन्।
आगामी दिनमा संविधानको कार्यान्वयन, परिवर्तित व्यवस्थाअनुरुप नागरिकले अनुभूत गर्ने तहमा जीवनस्तर परिवर्तनको दिशामा मुलुकलाई अगाडि बढाउन दलका बीचमा सहकार्य र सहमतिको संस्कृति अझ विकास र विस्तार हुने विश्वास उनले व्यक्त गरेका छन्।
लोकतन्त्रको उच्चतम अभ्यास गर्न, यसलाई फुल्ने, फल्ने वातावरण बनाउन, लोकतान्त्रिक विधि, पद्धति र प्रक्रिया लागू गर्न निरन्तर प्रयत्नरत रहन एवं संवैधानिक मूल्य, मान्यता र नैतिकतालाई आत्मसात् गर्न नयाँ वर्षले सबैलाई प्रेरणा दिने विश्वास सभामुख सापकोटाको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।