काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनमा मताधिकार लिन दर्जनभन्दा बढी पदाधिकारीहरुले राजीनामा दिएका छन्।
भोलिबाट बहालवाला पदमा रहेका व्यक्तिले असारमा हुने एन्फाको निर्वाचनमा मताधिकार लिएर नपाउने भएपछि ११ जनाभन्दा धेरै पदाधिकारीले पदबाट राजीनामा दिएको एन्फा स्रोतले बताएको छ।
स्रोतका अनुसार बुधबार साँझसम्म मानार्थ उपाध्यक्ष शिक्षित पराजुली, सहायक महासचिवहरू भरतबुढा थापा, समी मुल्ला, बाबुकाजी बस्नेत र अरुणमान जोशीलगायतका पदाधिकारी छन्।
‘उहाँहरुले राजीनामा बुझाउनु भएको हो। तर, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले राजीनामा स्वीकार गर्नुभएको छैन,’ एक पदाधिकारीले नेपाल लाइभसँग भने।
एन्फाको निर्वाचन निर्देशिकामा कार्यकारी समिति, महासचिव, प्रमुख कार्यकारी अधिकृत, कोषाध्यक्ष, सहायक महासचिव, सहायक प्रमुख कार्यकारी अधिकृत, सहकोषाध्यक्ष, मानार्थ अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरुले साधारण सभामा भाग लिने पाउने तर उनीहरुलाई मतदानको अधिकार नहुने उल्लेख छ।
यस्तै, आफ्नो कार्यकालमा कार्यकारी समितिमा सदस्यहरुले आफ्नो संघको प्रतिनिधिका रुपमा नियुक्त हुन नपाउने र कुनै सदस्य संस्थाबाट मताधिकार प्रतिनिधि भएको खण्डमा पूर्वपदबाट राजिनामा गर्नुपर्ने उल्लेख छ।
यसअघि जेठ १५ गते कार्यसमिति चयनको निर्वाचन हुने भनिएको थियो। तर, फिफा र एएफसीको प्रतिनिधि उक्त मितिमा नेपाल आउन नसक्ने कारण जनाउँदै एन्फाले निर्वाचन सारेको छ।
एन्फाको नयाँ कार्यसमितिको लागि असार ६ गते मिति तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।