काठमाडौं– नेकपा माओवादी केन्द्र पर्सा जिल्ला समन्वय समितिले पार्टीको वीरगञ्ज महानगरपालिका समितिका अध्यक्ष रहबर अन्सारीसहित ३ स्थानीय नेतालाई पार्टीबाट निष्कासन गरेको छ।
माओवादी केन्द्र पर्सा जिल्ला इञ्चार्ज विजय महतो र जिल्ला संयोजक रामदरश कुशवाहाले बुधबार एक विज्ञप्ति जारी गर्दै अन्सारीसहित ३ जनालाई पार्टीलाई निष्कासन गरिएको बताएका छन्।
वीरगञ्ज महानगरपालिका समितिका अध्यक्ष अन्सारी, उपाध्यक्ष अनुरुध यादव र जुम्मादिन अन्सारी निष्कासनमा परेका हुन्।
३ जनाले जिल्ला समन्वय समिति पर्साको पार्टी कार्यलय तोडफोड गरी जिल्लाका जिम्मेवार नेतृत्वहरुमाथि गाली गलौज गरेको विज्ञप्तिमा उल्लेख छ।
'स्थानीय चुनावमा समेत धक्का पार्ने कार्य, अनुशासनहीन, गुण्डागर्दी, अराजक गतिविधि गर्ने गराउने वीरगञ्ज महानगरपालिका (समिति)का अध्यक्ष रहबर अन्सारी, उपाध्यक्ष अनुरुध यादव र जुम्मादिन अन्सारीलाई आजकै मितिबाट साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको छ,' बुधबार जारी विज्ञप्तिमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।