काठमाडौं– नेकपा माओवादी केन्द्रले चुनावी प्रचारको पोस्टरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो राखेको छ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को फेसबुक पेजबाट सार्वजनिक पोस्टरमा प्रचण्डसँगै नेता जनार्दन शर्मा र कुलमान घिसिङको तस्बिर राखिएको छ।
‘लोडसेडिङ अन्त्य एउटा फड्को, अब पालो निःशुल्क बिजुलीको’ लेखेर प्रचण्डको फेसबुकबाट माओवादीले चुनावी प्रचार गरेको छ। उक्त पोस्टरमा अँध्यारोबाट उज्यालोतर्फको यात्रा लेखिएको छ। माओवादी नेता शर्मा ऊर्जामन्त्री र घिसिङ प्राधिकरणका कार्यकारी निर्देशक भएका बेला लोडसेडिङ अन्त्य भएको थियो।
प्रचण्डको फेसबुकबाट यो पोस्टर आज बिहान सार्वजनिक भएपछि माओवादी नेता/कार्यकर्ताले आफ्नो वालमा सेयर गर्न थालेका छन्।
पछिल्लो समय शेरबहादुर देउवा नेतृत्वको पाँचदलीय गठबन्धन सरकारले घिसिङलाई फेरि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।