काठमाडौं– साविक विजेता चेल्सीलाई पराजित गर्दै रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।
प्रिमियर लिग टोली चेल्सीसँग च्याम्पियन्स लिग क्वार्टरफाइनलको दोस्रो लेगमा ३–२ ले पराजित भएपनि समग्रमा ५–४ को नतिजासहित रियल अन्तिम चारमा पुगेको हो। पहिलो लेगमा करिम बेन्जेमाको ह्याट्रिकमा रियलले चेल्सीलाई ३–१ ले हराएको थियो।
रियलको सेमिफाइनल यात्रामा पुनः बेन्जेमा नायक बने। समग्रमा ४–४ को बराबरीपछि थप समयमा बेन्जेमाले गोल गरेका थिए । थप समयको छैटौं मिनेटमा बेन्जेमाले भिनिसियस जुनियरको क्रसमा हेड गोल गरेका थिए।
रियल ३–० ले पछि परेको अवस्थाबाट रोड्रिगोले ८० औं मिनेटमा गोल गर्दै खेलमा फर्काएका थिए। लुका मोड्रिचको पासमा परिवर्तित रोड्रिगोले गोल गरेका थिए। मासन माउन्टको गोलबाट चेल्सीले १५औं मिनेटमा खेलमा अग्रता लिएको थियो।
५१औं मिनेटमा एन्टोनियो रुडिगरको हेडगोलमा चेल्सीले अग्रतालाई दोब्बर बनाए। त्यो गोलले चेल्सीले खेलमा गोल औसतमा ३–३ को बराबरी गरेको थियो। टिमो वार्नरले ७५औं मिनेटमा गोल गर्दै चेल्सीले अन्तिम चारमा पुर्याउने सम्भावना बलियो बनाएका थिए।
तर, ८० औं मिनेटमा खेललाई रोड्रिगोले रियलका लागि गोल गरेपछि खेलले नाटकिय मोड लिएको थियो। उनको गोलबाट खेल थप समयमा धकेलिएको थियो। जहाँ फेरि एकपटक बेन्जेमा चम्केका छन् र टोलीलाई सेमिफाइनल पुर्याउन सफल भए। गत सिजन चेल्सीले सेमिफाइनलमा रियललाई हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।