काठमाडौं– स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनका दलको बैठक आज पनि बस्दै छ। आजको बैठकले चुनावी तालमेलको मोडालिटीबारे टुंगो लगाउने बताइएको छ। बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो।
यसअघि सोमबार बालुवाटारमा बसेको गठबन्धन बैठकमा चुनावी तालमेलको मोडालिटीबारे छलफल भएको थियो। सो छलफल निष्कर्ष भने निकाल्न नसकेकाले आज तालमेलको मोडालिटीबारे छलफल गरी निष्कर्ष निकालिने एक नेताले जानकारी दिए।
सोमबारको बैठकमा आगामी ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा दलहरूबीचको तालमेल कसरी गर्ने? कुन आधारमा गर्ने? भन्नेबारे छलफल भएको थियो। बैठकले महानगर र उपमहानगरको हकमा केन्द्रबाट टुंग्याउने र अन्य पालिकामा तल्लोतहबाटै टुंग्याउने सहमति बनेको थियो।
साथै, सामबारको बैठकले स्थानीय तह निर्वाचनमा सहकार्य र एक अर्कालाई सहयोग गर्दै अघि बढ्ने निर्णय गर्दै एक अपिलसमेत सार्वजनिक गरेको थियो।
गठबन्धनले तालमेलको खाका बनाउन चुनावी संयन्त्रसमेत बनाइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।