काठमाडौं- बझाङमा आफ्नो पार्टीद्वारा आयोजित सभामा सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई आरोपै आरोप लगाएका छन्। उनले विभिन्न खालका कडा शब्द प्रयोग गर्दै सरकारको आलोचना गरेका हुन्।
सरकारले चुनाव भाँड्न र स्थानीय सरकारलाई रिक्त बनाउने षडयन्त्रमा लागेको उनको आरोप छ। 'म गठबन्धन नामको खैजडी सरकारलाई भन्न चाहन्छु, चुनाव रोक्ने कोसिस धेरै पटक गरिसकेको छ यो सरकारले', उनले भने।
उनले सरकारले देशलाई बर्बाद बनाउन खोजेको र प्रतिगमनमा लैजान खोजेको पनि बताए। गठबन्धन सरकार भनेको प्रतिगामीहरुको सरकार भएको उनको आरोप छ।
ओलीले अहिलेका प्रधानमन्त्री देउवा जबजब सरकारमा जान्छन्, तबतब प्रतिगमन हुने गरेको पनि बताए। लोकतन्त्र बुझाउने गरेको आरोप पनि ओलीको थियो। 'म आग्रह गर्न चाहन्छु, यसपल्ट त्यस प्रकारको प्रयास नगर्नुस्। उहाँको यो लुटमण्डलीलाई, अहिले जुन सरकार भनेर बसेको छ, पाँच दलीय गठबन्धन, त्यसलाई चेतावनी दिन चाहन्छु', उनले भने।
आफ्नो सरकार छँदा कैयौँ अस्पताल र बाटो एकैपटक उद्घाटन गरेको तर अहिलेको सरकारले बजेट कटौती गरेको भन्दै उनले भने- 'हामीले २१० वटा बाटो एकैपटक उद्घाटन, ३९६ अस्पताल एकैपटक उद्घाटन गर्यौं। यस्तो साधारणयता थिएन। तर, अहिलेको नालायक सरकार सबैतिरका बजेट काट्दैछ। यो हुतिहारा सरकार हो।'
ओलीले पाँच दलीय गठबन्धनलाई पनि पाँच वटा मुख भएको खन्चुवा आरोपित गरे। 'अर्थतन्त्रको अवस्था अत्यन्तै नाजुक भएको छ। श्रीलंकाको कुरा तपाईंहरुले सुन्नुभएको छ। श्रीलंका टाट उल्टिने अवस्थामा पुग्यो', उनले भने, 'नेपालमा त्यसै गरेर, यिनीहरु देश बनाउने होइन, पाँच वटा मुख भएका खन्चुवाहरु छन्। देश चुस्नेहरु छन्। यस्ताले देश चुसेर देशलाई बर्बाद बनाउँदैछन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।