काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना मंगलबारबाट सुरु हुने भनिएको सहिद स्मारक ‘सी’ डिभिजन लिग सरेको छ।
१४ क्लबको सहभागितामा चैत २९ गतेबाट हुने भनिएको लिग प्राविधिक कारणवश १० दिनपछि सरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले सोमबार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। लिग २०७९ वैशाख ९ गतेबाट सुरु हुनेछ।
योसँगै २०७८ मा ‘सी’ डिभिजन लिग आयोजना नहुने भएको छ। ‘सी’ लिग खेल्ने क्रममा मनोहरा एकिकृत युवा क्लब, समाज कल्याण खेलकुद क्लब, खालीबारी युवा फुटबल क्लब, महावीर स्टडिज एण्ड एसोसिएसन, प्लानिङ ब्वाइज युनाइटेड, वीरगञ्ज युथ एकेडेमी, झापा फुटबल क्लब छन्।
त्यस्तै स्पोर्टस ऐकेडेमी साँगा, सानेपा क्लब, आरसी ३२ फुटबल एकेडेमी, रानीवन स्पोर्टस क्लब, पुल्चोक स्पोर्टस क्लब, ओसिस क्लब र स्वयम्भु क्लबले प्रतिस्पर्धा गर्नेछन्।
‘सी’ डिभिजन लिगबाट शीर्ष २ टोली ‘बी’ डिभिजनमा बढुवा हुनेछन्। यो वर्षका ‘ए’ र ‘बी’ डिभिजन लिग भने सम्पन्न भइसकेका छन्। आइबार ‘बी’ डिभिजन लिग सम्पन्न भएको थियो। जसमा चर्च ब्वाइज युथ क्लब विजेता र खुमलटार युथ क्लब उपविजेताका रुपमा ‘ए’ डिभिजन लिगमा बढुवा भएका थिए।
यता, सामाजिक युथ क्लब र झम्सिखेल युथ क्लब ‘सी’ डिभिजनमा घटुवा भएका छन्। फागुनमा सम्पन्न ‘ए’ डिभिजन लिग मछिन्द्र फुटबल क्लबले जितेको थियो। च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज युथ क्लब ‘बी’ डिभिजनमा घटुवा भएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।