फाइल तस्बिर।
बझाङ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार स्थानीय तह रिक्त पारेर भ्रष्टाचार गर्ने अभियानमा रहेको आरोप लगाएका छन्। चुनावी सभालाई सम्बोधन गर्न बझाङ पुगेका उनले अहिले पनि चुनाव रोक्ने खेल जारी रहेको समेत बताएका छन्।
उनले भने, ‘संसद् अन्त्य गरेर, अध्यादेश ल्याएर चुनाव गराउन खोजेको छ। जनप्रतिनिधिविहीन बनाउन खोजेको छ। प्रतिगमनमा लैजान खोजेको छ।’
प्रधानमन्त्री शेरबहादुर देउवा सत्तामा आउँदा लोकतन्त्र बुझाउने गरेको विगत रहेको बताउँदै ओलीले यसपल्ट त्यस्तो हुन नदिने बताए। उनले आगामी निर्वाचन व्यवस्थित ढंगले होस् भनेर मात्रै एमाले सहेर बसेको बताए।
‘लुटमण्डलीलाई चेतावनी दिन चाहन्छु– व्यवस्थित ढंगले चुनाव होस् भनेर सहेका छौं। एमालेले चिताएको ७ दिनमा जरा उखेलेर फालिदिन्छौं।’
उनले आगामी निर्वाचनमा देश बिगार्ने एकातिर र देश बनाउन एकातिर हुने समेत उल्लेख गरे।
देउवा सरकारले बाढीपीडित बझाङका जनतालाई नहेरेको बताउँदै एमालेको सरकारले कुनै विभेद नगर्ने बताए।
‘तराईमा चक्रपात भन्ने भूमरी आयो। मेरो नेतृत्वको सरकारले सबै पीडितलाई घर बनाएर दियो। गत कात्तिकमा बझाङमा त्यत्रो विनाश भयो, प्रधानमन्त्री ब्यारेकमा ओर्लिनुभयो, फर्किनुभयो। पुल बने? बाटो भत्किएको बन्यो? ती भत्किएका घर एमालेले बनाउनेछ। यो बर्खा अलि कठिनाइ हुनेछ। हामी सरकारमै छैनौं। अर्को हिउँदमा हाम्रो सरकार आउँछ बनाउँछौं।’
सरकारमा रहेका दल सम्धी, ज्वाइँ, भतिजो नियुक्ति गर्नमै व्यस्त रहेको आरोप उनले लगाएका छन्। आर्थिक अवस्था कर्मचारी, सेना र प्रहरीलाई तनाखा समेत दिन नसक्ने अवस्था पुगेको उनले बताए।
सुदूरपश्चिम सरकार केन्द्रको भन्दा भ्रष्ट रहेको उनको आरोप छ। ‘पहिले कमिसन, त्यसपछि विकास आयोजना दिने त सुदूरपश्चिममा सरकार छ,’ उनले थपे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।