काठमाडौं– नेपाल एएफसी फुटसल एसियन कप छनोटबाट बाहिरिएको छ। किर्गिस्तानको विश्केकस्थित ग्याजप्रोम स्पोर्ट्स कप्लेक्समा सोमबार भएको दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ११–१ को फराकिलो गोल अन्तरले पराजित भएको हो।
पहिलो हाफमा अग्रता लिँदै ताजिकिस्तानलाई बराबरीमा रोकेपनि नेपालले दोस्रो हाफमा निराशाजनक प्रदर्शन गर्दा फराकिलो गोल अन्तरले पराजित हुन पुग्यो। ताजिकिस्तानविरुद्ध नेपालका लागि आदिल हामिदले एक गोल गरे।
हामिदले तेस्रो मिनेटमा गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए। तर, आठौं मिनेटमा योरोभ इद्रिसले गोल गर्दै ताजिकिस्तानलाई १-१ गोलको बराबरीमा ल्याए।
२१औं कुजिभ उमेदले गोल गर्दै ताजिकिस्तानलाई २-१ को अग्रता दिलाए। त्यसको चार मिनेटपछि सार्दोरोभ फाइजलीले गोल गर्दै ताजिकिस्तानलाई ३-१ मा पुर्याए। ३१औं मिनेटमा फाइजलीले व्यक्तिगत दोस्रो गोल गर्दा ताजिकिस्तानले खेलमा ४-१ को अग्रता बनाएको थियो।
त्यसको दुई मिनेटमा नेपालले लगातार २ गोल खायो। ३२औं मिनेटमा फाइजलीले ह्याट्रिक पूरा गरे। ३३औं मिनेटमा हालिमोभ शभोक्वाटले गोल गर्दै टोलीलाई ६-१ को अग्रता दिलाए। त्यसको एक मिनेटमा पछि नै उमेदले गोल गर्दै ताजिकिस्तानलाई ७-१ मा पुर्याए।
एक मिनेट बित्न नपाउँदै हालिमोभले व्यक्तिगत दोस्रो गोल गर्दै ताजिकिस्तानको अग्रता ८-१ मा पुर्याए।३७औं मिनेटमा रिजोमोभ समान्दरले गोल गर्दै ताजिकिस्तानको अग्रता ९-१ को बनाए।
त्यसको एक मिनेट पछि नै योरोभले गोल गर्दा नेपाल १०-१ को स्थिति पुग्यो। यस्तै, रिजोमोभले गोल गरेपछि ताजिकिस्तान ११-१ ले विजयी भयो।
लगातार दोस्रो हारसँगै नेपाल छनोटबाट बाहिरिएको छ। पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ ले पराजित भएको थियो।
छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग चैत २९ गते खेल्नेछ। खेल किर्गिस्तानस्थित विश्केकस्थित ग्याजप्रोम स्पोर्ट्स कम्प्लेक्समा हुनेछ।
समूह ‘ए’ मा इरान, आयोजक किर्गिस्तान, तुर्केमिनिस्तान र माल्दिभ्स परेका छन्। प्रतियोगिता अन्तर्गत साउथ तथा सेन्ट्रल जोनको दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोलीले सन् २०२२ मा कुवेतमा हुने एएफसी फुटसल एसियन कपमा स्थान बनाउनेछन्।
यस क्षेत्रबाट कुल ४ टोली छनोट हुँदा पश्चिमबाट ५, पूर्वबाट ३ तथा आसीआन क्षेत्रबाट ३ टोली छनोट हुनेछन्। आयोजक कुवेत अन्तिम चरणका लागि छनोट भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।