काठमाडौं– चुनावी तालमेलबारे छलफल गर्न बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसिरहेको छ।
बैठकमा स्थानीय तहमा गठबन्धनका लागि मापदण्ड बनाउने, कुन दललाई कहाँ कसरी उम्मेद्वार बनाउने विषयमा छलफल भइरहेको बैठकबाट बाहिरिएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए।
बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको ढाँचाबारे छलफल भइरहेको उनको भनाइ छ।आजको बैठकमा कसरी तालमेल गर्ने र कुन महानगर तथा उपमहानगर कसले लिने भन्नेमा छलफल गरी निर्णय गर्ने तयारी रहेको उनले बताए।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललगायत गठबन्धन दलका शीर्ष नेताहरू सहभागी छन्।
यस्तै गठबन्धनले बनाएको चुनावी तयारी तथा अनुगमन समितिका संयोजक रामचन्द्र पौडेलसहित समिति सदस्यहरू पनि बैठकमा उपस्थित रहेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।
बैठकपछि आजै चुनावलगायत समसामयिक विषयमाथि गठबन्धनका शीर्ष नेताले संयुक्त विज्ञप्ति जारी गर्ने तयारी रहेको श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।