काठमाडौं– बार्सिलोनाले घरेलु टोली लेभान्टेमाथि रोमाञ्चक पुनरागमन जित निकालेको छ। इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा डच फरवार्ड लुक डि जोङले गरेको गोलमा बार्सिलोनाले लेभान्टेलाई ३–२ ले पराजित गरेको हो।
भ्यालेन्सियामा आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाका लागि लुक डि जोङसँगै पिएरे इमरिक औवामियाङ र पेड्रीले गोल गरे। घरेलु टोलीका जोस लुइस मोरालेस र गोन्जालो मेलेरोले गोल गरे।
पहिलो हाफ बराबरीमा सकिएको खेलको ५२औं मिनेटमा जोस लुइस मोरालेसको गोलबाट बार्सिलोना खेलमा पछि परेको थियो। पेनाल्टी बक्समा ड्यानी आल्भेसले सनलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिँदै लेभान्टेलाई पेनाल्टी प्रदान गर्दा जोस लुइस मोरालेस चुकेनन्।
लगत्तै ५६औं मिनेटमा लेभान्टेले अर्काे पेनाल्टी पाएपनि रोजरले गोल गर्न नसक्दा घरेलु टोली अग्रता दोब्बर पार्नबाट चुक्यो। एरिक गार्सियाले हेडरबाट आएको बललाई ह्यान्ड गर्न पुगेपछि रेफ्रीले लेभान्टेलाई पेनाल्टी प्रदान गरेको थियो। रोजरको पेनाल्टीलाई बार्सलोनाका गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बचाए।
खेलको ५९औं मिनेटमा औवामियाङले औसमाने डेम्वेलेको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। ६३औं मिनेटमा पेड्रीले पाब्लो गाभीको पासमा गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए।
खेलको ८३औं मिनेटमा गोन्जालो मेलेरोले पेनाल्टीबाटै गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्या । ड्यानिल गोमेजलाई क्लेमेन्ट लेङ्लेटले फउल गर्न पुगेपछि रेफ्रीले घरेलु टोली लेभान्टेलाई खेलमा तेस्रो पेनाल्टी प्रदान गर्दा यसपटक मेलेरो चुकेनन्।
बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा परिवर्तित लुक डि जोङले गोल गर्दै बार्सिलोनालाई ३–२ को महत्वपूर्ण जित दिलाए। ८४औं मिनेटमा औवामियाङको स्थानमा मैदान छिरेका लुक डि जोङले जोर्डी अल्वाको पासमा गोल गरेका थिए।
जितसँगै बार्सिलोना ३० खेलबाट ६० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। समान अंक रहे पनि सेभिया गोल अन्तरमा पछि छ। पराजित लेभान्टे २२ अंक जोडेर १९औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।