काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेलेका छन्।
आइतबार राति सम्पन्न खेलमा सिटी र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन्।
इतिहास स्टेडियममा घरेलु टोली सिटीले अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो।
खेलको पाँचौं मिनेटमै केभिन डी ब्रुएनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको १३औं मिनेटमै डिएगो जोटाले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा ल्याए।
खेलको ३६औं मिनेटमा ग्राबियल जिससले गोल गर्दै सिटीलाई २–१ को स्थितिमा पुर्याए।
तर, ४६ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई पुनः २–२ गोलको बराबरीमा ल्याए।
खेलको ६३ औं मिनेटमा सिटीका रहिम स्ट्रर्लिङले गरेको गोलले मान्यता पाएन। भीएआरले उनलाई अफसाइड देखाएको थियो। त्यसपछि कुनै टोलीबाट गोल हुन नसक्दा खेल बराबरीमा टुंगियो।
बराबरीसँगै लिगको उपाधि होड थप रोमान्चक बन्दै गएको छ। बराबरीसँगै ३१ खेलबाट ७४ अंक जोडेको सिटी शीर्ष स्थानमा रहेको छ। समान खेलबाट ७३ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।