फाइल तस्बिर
काठमाडौं– स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका दलहरुबीच हुने तालमेलको मोडालिटी शीर्ष नेताको बैठकबाट टुंग्याइने भएको छ।
सत्ता गठबन्धनको निर्वाचन परिचालन तथा अनुगमन समितिको आइतबार बसेको बैठकले चुनावमा हुने तालमेलबारे शीर्ष नेता बसेर टुंग्याउने निष्कर्ष निकालेको हो।
बैठकमा गुनावमा गठबन्धनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको र टुंगोमा पुग्न शीर्ष तहको बैठक बस्ने निष्कर्ष निकालिएको नेपाली कांग्रेसका नेता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।
'आजको बैठकमा स्थानीय तहको चुनावमा गठबन्धनलाई कसरी प्रभावकारी बनाउने भनेर छलफल गरेको छ। भोलि ९ बजे शीर्ष तहको बैठक बसेर निष्कर्षमा पुग्छौं,' समितिका सदस्य समेत रहेका मन्त्री कार्कीले भने।
सत्तारुढ गठबन्धनले कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन परिचालन तथा अनुगमन समिति गठन गरेको छ। समितिले चुनावी संयन्त्र कस्तो बनाउने भनेर गठबन्धनका सबै पार्टीका प्रदेश, जिल्ला र स्थानीय तहका समितिहरुबाट सुझाव समेत संकलन गर्ने भनिएको थियो।
शीर्ष नेताहरुको बैठकमा हुने छलफलका क्रममा 'प्राविधिक विषय' मिलाउन सोमबार नै पौडेल नेतृत्वको समितिको समेत बैठक बस्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।