काठमाडौं– खुमलटार युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ।
सहिद स्मारक ‘बी’ डिभिजन लिगको १३औं चरणको अन्तिम दिन भएको दुई खेलमध्ये खुमलटारले सामाजिक युथ क्लबलाई २–१ ले पराजित गर्दा रानीपोखरी कर्नर टिम (आरसिटी) टुसाल युथ क्लबसँग गोलरहित बराबरीमा रोकियो।
लिगमा दुवै टिमले १३ खेलबाट २२ अंक जोडे पनि हेट टू हेडमा खुमलटारसँग रानीपोखरी पछाडि पर्यो। पहिलो चरणमा खुमलटारले रानीपोखरीलाई ३–१ ले पराजित गरेको थियो।
खेलको १४औं मिनेटमा कप्तान सबिन केसीले गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाए।
५७औं मिनेटमा सुरेश खत्रीले गोल गर्दै सामाजिकलाई खेलमा फर्काए। तर, खेलको इन्जुरी समयमा सामाजिकका विकास लिम्बुले आत्मघाती गोल गरेपछि खुमलटारले २–१ को महत्वपूर्ण जित निकाल्दै शीर्ष डिभिजनमा बढुवा हुन सफल भयो।
खुमलटार २०७० सालमा ‘सी’ डिभिजन विजेता बन्दै दोस्रो डिभिजनमा बढुवा भएको थियो। पछिल्लो संस्करणमा खुमलटार पनि दोस्रो भएको थियो। तर, उक्त संस्करणमा एक क्लबमात्र बढुवा हुने प्रावधान रहेकाले खुमलटार ‘बी’ डिभिजनमै रह्यो।
यस्तै, खुमलटारसँग पराजित भएसँगै सामाजिक युथ क्लब रेलिगेशनमा परेको छ। सामाजिकले १३ खेलबाट १४ अंक जोड्यो। जुन रेलिगेशन जोनभन्दा एक स्थानमा माथि रहेको टुसालको भन्दा एक अंकमात्र कम हो।
तालिकाको शीर्ष स्थानमा रहेको चर्च ब्वाइज युनाइटेडले यसअघि नै उपाधिसहित ‘ए’ डिभिजन लिगमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। यता, पुछारमा रहेको झम्सिखेल तेस्रो डिभिजनमा घटुवा भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।