काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धलाई 'अपराधी गठबन्धन' भनेका छन्। आइतबार नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै उनले गठबन्धनले देश बर्बाद बनाउँदै गरेको बताए।
'चरम भ्रष्टता भएको छ। यो कुरा सरकारमा बस्नेहरु र गठबन्धनवालाले बुझेकै छैनन्। घरमा आगो लगाएर कहाँ बस्छौ गौंथली भनेर गीत गाइरहेका छन्', उनले भने, 'देश त बर्बाद हुँदैछ। बर्बाद बनाउँछन् यो अपराधी गठबन्धनले।'
उनले पटक–पटक देश श्रीलंका जस्तो हुन थालेको बताएका थिए। 'अहिले देशको अर्थतन्त्र हेर्नुस् त। श्रीलंका बन्न जाँदैछ। शिक्षकहरुले तनखा र जेष्ठ नागरिकले भत्ता पाएनन् भने अनौठो नमान्नु होला। दिन सक्ने अवस्था छैन', उनले भने।
उनले अहिले नै अर्थतन्त्र ध्वस्त भइसकेको भन्दै 'फेल्ड स्टेट'तिर जाने अवस्था आउँदै गरेको बताए। 'श्रीलंका कस्तो भइरहेको छ? कोही विदेश जाने कल्पना नगरे हुन्छ। किनकि, विदेश जान डलर चाहिन्छ। किनकि डलर राष्ट्र बैंकले दिन सक्दैन', उनले भने।
ओलीले अहिले देशको पैसा बाहिर बाहिरै कारोबार भइरहेको दाबी गरे। उतै भुक्तानी हुने, तर देशभित्र पैसा नआउने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।