काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफू अर्थमन्त्री हुँदा (अध्यादेशमार्फत्) ल्याइएको बजेट किन संशोधन गरिएको भन्दै सरकारलाई प्रश्न गरेका छन्। त्यसको जवाफ वर्तमान सरकारले दिनुपर्ने पनि उनको भनाइ छ।
एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले तत्कालीन समयमा सरकारले लोकप्रिय र कार्यान्वयन हुनुका साथै समृद्धितर्फ अग्रसर हुने बजेट ल्याएको, तर शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारले त्यसलाई संशोधन गरेको उनले बताए।
‘हामीले सामूहिक र लोकप्रिय बजेट ल्यायौं। तर, अहिलेको सरकारले अकारण उक्त बजेटमा प्रहार गर्यो,’ पौडेलले भने, ‘त्यसको विरुद्धमा प्रतिस्थापन विधेयक ल्याउनुपर्ने कारण थिएन। सरकारले लिएर आयो, तर त्यसले अर्थतन्त्र नकारात्मक अवस्थामा ल्याउने काम गर्यो।’
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका पौडेलले २०७८ जेठ १५ गते अध्यादेशमार्फत् बजेट ल्याएका थिए। देउवा नेतृत्वको सरकारले उक्त बजेट प्रतिस्थापन गरेर नयाँ बजेट ल्याएको थियो।
वर्तमान सरकारले देशलाई बजेटविहीन अवस्थामा पुर्याएका कारण अहिले अर्थतन्त्रमा समस्या आएको पौडेलले दाबी गरे। ‘देशभरका स्थानीय तहमा ७७५ वटा आधारभूत अस्पताल स्थापना गर्ने, हरेक पालिका जोड्ने रणनीतिक सडक बनाउने र २० युनिटभन्दा कम उपभोग गर्नेहरुलाई नि:शुल्क विद्युत् उपलब्ध गराउने निर्णय गरेको थियो। तर, अहिलेको सरकारले यस्तो योजनालाई बजेट दिएको छैन,’उनले भने।
अहिलेको तथ्याङ्क कहालीलाग्दो भएको भन्दै उनले घाटा बढ्दै गएको बताए। भुक्तानी घाटा २६० अर्ब भएको र विदेशी विनिमय सञ्चय पनि घटेको बारेमा कहाँ गल्ती भएको हो भनेर सरकारले जनतालाई जानकारी दिनुपर्ने उनको भनाइ छ।
‘गत वर्ष विदेश जाने ८५ प्रतिशत घटेपनि रेमिट्यान्स बढेको थियो। तर, अहिले वैदेशिक रोजगारीमा जानेहरुको संस्था २५७ प्रतिशत वढ्दा विप्रेषण ५ प्रतिशतले घट्नुको कारण के हो ?’ उनले भने ‘रेमिट्यान्सवाट आउने विदेशी विनिमय सञ्चित किन घट्यो? यसको जवाफ यसमै आउँछ।’
दातृ निकायबाट प्राप्त सहयोगको अवस्था निराशाजनक रहेको भन्दै उनले व्यापारघाटाले छलाङ मारेको टिप्पणी गरे। ‘सत्तामा बसेका साथीहरु छलाङ भन्न रुचाउनु हुन्छ। अहिले व्यापारघाटा, विदेशी विनियम सञ्चयमा ह्रास आउनेजस्ता कुरामा छलाङ भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।