काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि प्रभावकारी रूपले सही नीति अवलम्बन गर्न नसकेको बताएका छन्।
मुलुकको आर्थिक अवस्थाबारे एमालेको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
‘हिजो हाम्रो नेतृत्वको सरकार हुँदा तरलताको अभाव थिएन। सबै परिसूचकलाई विश्लेष्ण गर्दा एमालेले सरकार छोड्ने बेलामा तुलनात्मक रुपमा सबल र सुदृढ अर्थतन्त्रको अवस्थामा छोडेको थियो,’ उनले भने, ‘तर, अहिलेको सरकारले त्यसलाई निरन्तरता दिन सकेन। हामीले कोभिड महामारीको सामना गर्दै अर्थतन्त्रको व्यवस्था बिग्रन नदिएर तुलनात्मक रुपमा राम्रो गरेका थियौं।’
उनले हिजो एमाले नेतृत्वको सरकार हुँदा र अहिलेको अवस्थाको तुलनात्मक रुपमा अध्ययन गरिनुपर्ने बताए।
‘शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्दै गर्दा कोभिडको महामारी झन् कम हुँदै गएको थियो। यो सरकारले सही नीति लिएर प्रभावकारी हिसाबले अघि बढेको भए मुलुकको अर्थतन्त्र सुधार हुँदै जाने थियो,’उनले भने,‘तर, त्यसो हुन सकेन। हामीले लोकप्रिय बजेट ल्याएका थियौं। सबै दृष्टिकोणले राम्रो थियो। त्यसलाई कार्यान्वयनमा नलगेर राजनीतिक आग्रह राख्ने काम भयो।’
अहिलेको सरकारकै कारण इतिहासमा पहिलोपटक निश्चित समयसम्म मुलुक बजेटविहीन हुने अवस्थामा पुगेको भन्दै उनले सरकार गम्भीर नभएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।