काठमाडौं– फरवार्डद्वय नेयमार जुनियर र केलियन एमबाप्पेको ह्याट्रिकमा पेरिस सेन्ट जर्मेन (पीएससजी) ले फ्रेन्च लिग वानमा सानदार जित निकालेको छ।
पीएसजीले घरेलु टोली क्लेरमोन्ट फुटमाथि ६–१ को फराकिलो जित दर्ता गरेको हो। क्लेरमोन्टमा शनिबार राति भएको खेलमा घरेलु टोलीका जोडेल डोस्सोउले एक गोल फर्काए।
खेलको छैटौं मिनेटमा नेयमारको गोलबाट पीएसजीले सुरुवाती अग्रता लिएको थियो। उनले लियोनेल मेस्सीको पासमा गोल गरेका थिए। १९औं मिनेटमा एमबाप्पेले मेस्सीकै पासमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे। ४२औं मिनेटमा जोडेलले गोल गर्दै खेललाई पहिलो हाफमा २–१ स्थितिमा ल्याए।
खेलको ७१औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई ३–१ ले अघि बढाए। ७४औं मिनेटमा एमबाप्पेले नेयमारको पासमा गोल गरे।
खेलको ८०औं मिनेटमा एमबाप्पेले मेस्सीको पासमा गोल गर्दै ह्याट्रिक पुरा गर्दा पीएसजी खेलमा ५–१ ले अघि बढ्यो। त्यसको तीन मिनेटपछि नेयमारले एमबाप्पेकै पासमा गोल गर्दै ह्याट्रिक पुरा गरेपछि पीएसजीले फराकिलो जित निकाल्न सफल भयो।
जितसँगै शीर्षस्थानमा रहेको पीएसजीको ३१ खेलबाट ७१ अंक पुगेको छ। पराजित क्लेरमोन्ट फुट २८ अंक जोडेर १७औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।