काठमाडौं– स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल मड्रिडले सहज जित हात पारेको छ।रियल मड्रिडले घरेलु मैदानमा गेटाफेलाई २–० ले पराजित गरेको हो। रियलको जितमा क्यासमिरो र लुकास भास्क्वेजले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो।
सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलमा ३८औं मिनेटमा ब्राजिली मिडफिल्डर क्यासमिरोको गोलबाट रियलले पहिलो हाफमा १–० को अग्रता बनायो। उनले भिनिसियस जुनियरको पासमा गोल गरेका थिए।
खेलको ६८औं मिनेटमा स्पेनिस मिडफिल्डर लुकास भास्क्वेजले गोल गर्दै रियलको जित पक्का गरे। भास्क्वेजले रोड्रिगोको पासमा गोल गरेका थिए।
जितसँगै रियलले शीर्षस्थानमा १२ अंकको अग्रता बनाएको छ। रियलको ३१ खेलबाट ७२ अंक पुगेको छ। दोस्रो स्थानको सेभियाको ६० तथा दुई खेल कम खेलेको बार्सिलोनाको ५७ अंक छ। पराजित गेटाफे ३२ अंक जोडेर १४औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।