काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तीन वटै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन कायमै राखेर जानुको विकल्प नरहेको बताएका छन्।
संविधानलाई जोगाएर लैजानका लागि पनि संघ, प्रदेश र स्थानीय तहको निर्वाचनसम्म गठबन्धन कायमै राखेर अघि बढनुपर्ने सिंहको भनाइ छ।
शनिबार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले निर्वाचन जित्ने हो भने सिंगो पार्टी पंक्ति एकताबद्ध हुनुपर्ने आवश्यक्ता पनि औंल्याए।
निर्वाचनमा जाँदा कम्युनिस्टहरुले मौका पाउँदाखेरी त्यसलाई सदुपयोग गर्न नसकेको सन्देश जनतामा लैजानुपर्ने नेता सिंहको बताए।
उनले भने, ‘कम्युनिस्टहरुलाई मौका दिँदाखेरी त्यो मौकाको दुपयोग गर्नै सकेन। अब सिम्पल भाषामा भन्ने हो भने शान्ति प्रक्रिया त हाम्रा आदरणीय नेता गिरिजाप्रसाद कोइरालाले गर्नु भएको हो नि त। तर, म्यान्डेट कम्युनिस्टहरुले पायो। चार/चार पटक कम्युनिस्ट नेताहरु प्रधानमन्त्री बने, तर प्रथम संविधानसभाबाट संविधान त जारी भएन। जनताले म्यान्डेट दिँदा काम गर्न नसक्ने कम्युनिस्टहरु नै हुन्। यिनीहरुले जनताको पक्षमा, राष्ट्रको हितका पक्षमा काम गर्न सक्दैनन् भनेर आगामी निर्वाचनमा म्यासेज दिनसक्नुपर्छ भन्ने मलाई लागेको छ।’
कांग्रेस नेता सिंहले ओली नेतृत्वको सरकारले संविधानमाथि नै प्रहार गर्न थालेपछि पार्टी सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व लिनका लागि आफूहरुले अग्रसर गराएको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।