काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एएफसी एसियन कपमा छनोट हुने भन्दा पनि राम्रो खेल पस्किने लक्ष्य रहेको बताएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत् एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलको तयारी अघि उनले छनोट नै हुन्छौं भनेर वाचा गर्न नसकिने बताएका हुन्।
‘हामी एसियन कपमा छनोट हुनेछौं भनेर म वाचा गर्दिनँ। तर, हामी सबैलाई हाम्रा नायकहरू (खेलाडी)मा गर्व हुनेछ भन्नेमा म वाचा गर्छु,’ उनले लेखेका छन्।
उनले नेपाललाई एसियाली फुटबलको नक्सामा राख्नु आफ्नो लक्ष्य भएपनि धैर्यता चाहिने बताएका छन्।
‘हाम्रो लक्ष्य सपना र आशाभन्दा ठूलो छ। हाम्रो लक्ष्य नेपाललाई एसियाली फुटबलको नक्सामा राख्नु हो। तर, यसका लागि समय र धैर्यता चाहिन्छ,’ उनले भने।
उनले एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलका लागि ३ देखि ४ मैत्रीपूर्ण खेल खेल्ने तयारी रहेको पनि जानकारी दिएका छन्।
‘हाम्रो यात्रा यसपटक १५ अप्रिलदेखि १५ जुनसम्म ३ देशहरूमा हुनेछ र हामी ३ देखि ४ मैत्रीपूर्ण खेलहरू कन्फर्म गर्ने प्रयास गर्छौं,’ उनले लेखेका छन्।
मुख्य प्रशिक्षक अल्मुताइरीले एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलका लागि बन्द प्रशिक्षणमा २५ खेलाडी बोलाएका छन्।
प्रारम्भिक टोलीको घोषणा हुँदा नेपाली टोलीबाट नियमित सदस्य तथा मिडफिल्डर विशाल बाहिरिएका थिए। उनलाई पनि समेटिएको छ।
यस्तै, फरवार्ड नवयुग श्रेष्ठ र डिफेन्डर विकास खवासले पुनरागमन गरेका छन्। आर्मीका खेलाडीद्वय नवयुग र विकास चोटका कारण पछिल्लो समय राष्ट्रिय टोलीबाट बाहिर रहेका थिए।
नेपालले अप्रिल १५ बाट बन्द प्रशिक्षण सुरु गर्नेछ। यसअघि यसै प्रतियोगिताका लागि एन्फाले थाइल्यान्डमा दुई मैत्रीपूर्ण फुटबल खेल खेलाएको थियो। तर, दुवै खेलमा नेपाल पराजित भएको थियो।
नेपाल छनोटमा समूह ‘ए’ मा रहेको छ। यही समूहमा जोर्डन, कुवेत र इन्डोनेसिया जस्ता बलिया टोली छन्।
यो समूहका खेलहरू ८ जुनदेखि १४ जुनसम्म कुवेतमा हुनेछ। नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग ८ जुनमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै, नेपालले ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।
हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।