काठमाडौं– एनएमबि बैंक लिमिटेडले अनलाइन बजार दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँललेले हस्ताक्षर गरे।
बैंकको कार्ड प्रयोगकर्ताहरुले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान २०७८ चैत्र २८ को दिनदेखि सीमित समयको लागि डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा १,००० सम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा १,५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन्।
उक्त छुट प्राप्त गर्नका लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नु पर्छ। बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सहजै सक्रिय गर्न सकिने र क्रेडिट कार्ड सरल प्रक्रियाबाट प्राप्त हुने जानकारी गराएको छ।
सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकहरुलाई नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु हो। यस सम्झौताले विशेष छुट उपलब्ध गराउने हुँदा ग्राहकहरुलाई विशेष सहयोग पुग्ने विश्वास दराजले लिएको जनाएको छ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३९ एटिएम सेन्टर र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।