काठमाडौं- केही दिनअघि आफैंले उद्घाटन गरेको रोल्पाको भ्युटावरको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बचाउ गरेका छन्।
बिहीबार सहिद रामप्रताप साह प्रवेशद्वार उद्घाटन तथा नगर अस्पताल भवन शिलान्यास कार्यक्रममा सिराहको मिर्चैयामा सम्बोधन गर्दै उनले रोल्पाको टावर अरुले खर्च गरेर बनाएको जस्तो नभएको बताएका हुन्।
'तपाईंहरुले थाहा पाउनुभयो। म रोल्पा गएको थिएँ। रोल्पामा जनयुद्ध स्मृति टावर, त्यो टावर भनेर पैसा खर्च गरेको अरु टावर जस्तो होइन', उनले भने।
प्रचण्डले सो टावरले जनयुद्धका सहिदहरुलाई सम्मान गर्ने बताए। टावरमा जनयुद्धको पहिलो पोस्टरलाई ठूलो स्ट्याचुको रुपमा बनाउने, जनयुद्ध बेलाका हातहतियार वा अरु गतिविधिका संग्रहालय राख्ने गरी सो टावर बनाइएको उनको भनाइ छ।
'दश वर्ष चलेको जनयुद्धका दश तला बनाउने भनेर एउटा औपचारिक ढंगले रोल्पाको सदरमुकामको नगरपालिकाद्वारा निर्णय गरियो', उनले भने।
चैत १४ गते प्रचण्डले रोल्पा नगरपालिकामा बनेको भ्यूटावरको उद्घाटन गरेपछि त्यसको औचित्यलाई लिएर चर्चा भएको थियो। शिक्षा तथा स्वास्थ्य जस्ता क्षेत्रमा व्यापक काम गर्नुपर्ने ठाउँमा चार करोड खर्च गरेर भ्युटावर बनाइएको भन्दै आलोचना गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।