काठमाडौं– एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलका लागि मिडफिल्डर विशाल राई राष्ट्रिय टोलीमा फर्किएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार विशाललाई टोलीमा राखिएको जनाएको छ।
यसअघि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्यप्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणका लागि २४ खेलाडी बोलाएका थिए। प्रारम्भिक टोलीको घोषणा हुँदा नेपाली टोलीबाट नियमित सदस्य तथा मिडफिल्डर विशाल बाहिरिएका थिए।
यस्तै, फरवार्ड नवयुग श्रेष्ठ र डिफेन्डर विकास खवासले पुनरागमन गरेका छन्। आर्मीका खेलाडीद्वय नवयुग र विकास चोटका कारण पछिल्लो समय राष्ट्रिय टोलीबाट बाहिर रहेका थिए।
नेपालले अप्रिल १५ बाट बन्द प्रशिक्षण सुरु गर्नेछ। यसअघि यसै प्रतियोगिताका लागि एन्फाले थाइल्यान्डमा दुई मैत्रीपूर्ण फुटबल खेल खेलाएको थियो। तर, दुवै खेलमा नेपाल पराजित भएको थियो।
नेपाल छनोटमा समूह ‘ए’ मा रहेको छ। यही समूहमा जोर्डन, कुवेत र इन्डोनेसिया जस्ता बलिया टोली छन्।
यो समूहका खेलहरू ८ जुनदेखि १४ जुनसम्म कुवेतमा हुनेछ। नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग ८ जुनमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै, नेपालले ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।
हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन्।
प्रशिक्षणमा डाकिएका खेलाडी :
किरणकुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्ती मगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजज्यू ठकुरी, तेज तामाङ, विशाल राई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।