काठमाडौं- राष्ट्रिय जनमोर्चा नेपालले सरकारलाई पुनः समर्थन दिएको छ। एमसीसीलाई प्रतिनिधि सभाबाट अनुमोदन गर्ने बेलामा फरक मत राखेको उसले एमसीसी अनुमोदन भएसँग समर्थन फिर्ता लिएको थियो।
'एमसीसी सम्बन्धी मतभेदका कारणले हाम्रो पार्टी पाँच दलीय गठबन्धनबाट हटे पनि अहिलेको देशको राजनीतिक स्थितिमा प्रतिगमन नै मुख्य खतरा भएको हुनाले चुनावमा त्यसलाई पराजित गर्नको लागि सत्ता पक्षका चार दलसित चुनावी तालमेल गर्ने ठेगान गरेका छौँ,' राजमो उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, 'त्यसका साथै प्रतिगमनका विरुद्धको संघर्षको क्रममा गठन भएको वर्तमान सरकारलाई दिएको समर्थन पनि कायम राख्ने नीति अपनाएका छौँ।'
त्यस्तै, राजमोले चुनावमा प्रतिगमन वा फासिष्ट शासनलाई पराजित गर्ने उद्देश्यलाई अगाडि राखेर अन्य पक्षहरुसित तालमेल गर्ने नीति अपनाएको बताएको छ। त्यसअनुसार एमाले र राजावादीसँग कुनै तालमेल नगर्ने र सत्तारुढ चार दलसित चुनावी तालमेल गर्ने आफूहरुको नीति हुने प्रष्ट पारिएको छ।
त्यस्तै, पार्टी अध्यक्ष चित्रबहादुर केसीको संयोजकत्वमा पाँच सदस्यीय स्थानीय तह निर्वाचन बोर्डको गठन गरिएको छ। जसका सदस्यहरुमा दुर्गा पौडेल, मनोज भट्ट, हिमलाल पुरी र बोमबहादुर खत्री छन्। 'त्यो बोर्डले गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख/उपप्रमुखका उमेदवारहरुको नामावली ठेगान गर्नेछ,' विज्ञप्तिमा भनिएको छ।
त्यसैगरी अध्यक्ष केसीको संयोजकत्वमा नै सात सदस्यीय स्थानीय निर्वाचन परिचालन समितिको पनि गठन गरिएको छ। जसका सदस्यहरुमा दुर्गा पौडेल, आनन्द शर्मा, बोमबहादुर खत्री, अमर थापा र सुरेश थापा रहनेछन्। त्यस्तै, राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीको संयोजकत्वमा १३ सदस्यीय निर्वाचन प्रचार प्रसार समितिको गठन गरिएको छ।
समितिका सदस्यहरुमा जनकराज शर्मा, दुर्गा पौडेल, मनोज भट्ट, हिमलाल पुरी, भैरवराज रेग्मी, नन्दराज भट्ट, अमृत पाण्डे, कृष्ण अधिकारी, मीना पुन, कृष्णराज पाण्डे, देवेन्द्र कुँवर र थम्मन केसी रहेका छन्।
जिल्ला, पालिका र वडा स्तरमा पनि परिचालन तथा प्रचार प्रसार समितिको गठन गरिएको छ। राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टको संयोजकत्वमा रामप्रकाश पुरीसहितको दुई सदस्यीय स्थानीय तह निर्वाचन घोषणा पत्र मस्यौदा समिति गठन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।