काठमाडौं– साविकको विजेता इंग्लिस क्लब चेल्सीले युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा घरेलु मैदानमा स्पेनिस क्लब रियल मड्रिडको आतिथ्यता गर्दैछ।
खेल स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ। घरेलु मैदानमा हुने पहिलो लेगमा चेल्सी रियललाई हराएर सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ।
गत सिजन यी दुई टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए। तर, चेल्सीले समग्रमा ३–१ को जित निकाल्दै फाइनल प्रवेश गर्दै उपाधि जितेको थियो। घरेलु मैदानमा भएको पहिलो लेगमा २–० को जित निकालेको चेल्सीले दोस्रो लेगमा १–१ गोलको बराबरी खेलेको थियो।
चेल्सी सोही प्रदर्शनलाई निरन्तरता दिने लक्ष्यसहित मैदानमा उत्रिने छ। टोलीसँग एङ्गोलो कान्टे, ट्रिभोअ चलोवाह, मासन माउन्ट, टिमो वेर्नर र मार्कोस अलन्सो रहेका छन्।
यस्तै, हाकिम जियाच, काई हाभर्टज र क्रिस्टियन पुलिलिस, इडुआर्ड मेन्डी, सेसर एज्पिलिक्वेटा, थियागो सिल्भा, एन्टेनियो रुडिगर, रिस जेम्स, जर्गिन्हो, माटियो कोभासिस जस्ता खेलाडी पनि छन्।
‘हामीले गत वर्ष राम्रो नतिजा हात पायौं र यस वर्ष पनि त्यस्तै गर्ने आशा गरेका छौं। रियल ठूलो टोली हो, कहिल्यै सजिलो हुने छैन तर हामीले उनीहरूलाई हराएर गत सिजन जित्यौं। त्यसैले बलियो मानसिकता बनाउन जरुरी छ,’ खेल अघि क्रिस्टियन पुलिलिसले भने।
यता, यो सिजन उच्च लयमा रहेको रियल उक्त हारको बदला लिने लक्ष्यमा रहनेछ। तर, चोटका कारण इडेन हाजार्ड र इस्को टोलीमा हुने छैनन्।
टोलीसँग करिम बेन्जेमा, भिनिसियस जुनियर, मार्को एसेन्सियो, ड्रिगो, नाचो फर्नान्डेस, मार्सेलो, फेडे भाल्भेर्डे रहने छन्। यस्तै, टोनी क्रुस, क्यासमिरो, लुका मोड्रिच, फर्लान्ड मेन्डी, डेभिड अलाबा, इडर मिलिसाओ र थिवाउट कोर्टुवा पनि रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।