काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन र सरकारको आलोचना गरेका छन्। मंगलबार वीरगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले यो गठबन्धन अपवित्र र गलत ढंगले जन्मिएको बताए।
अहिलेको सरकार पनि जनताले बनाएको सरकार नभएको उनको भनाइ छ। उनले जनताले बुथबुथमा गएर भोट हालेर बनाएको आफ्नो नेतृत्वको सरकारलाई अध्याँरा कुनाहरुमा षडयन्त्र गरेर हटाइएको बताए।
'त्यही पनि अदालतमा लगेर, कानुनको नौ सिङ भन्छन् नि, नौ सिङमध्ये कोखाको सिङले हानेर, टाउकाको सिङले हानेको होइन, दुनियाँमा कहीँ नभएको अदालतबाट सरकार बनाउने, अदालतबाट प्रधानमन्त्री छान्ने काम गरेर यो सरकार गठन गरेको हो', ओलीले भने।
उनले सरकार गठन कृतिम ढंगले भएको बताए। यो सरकार वैध सरकार नै नभएको उनको भनाइ छ। 'वास्तवमा यो संविधानसम्मत ढंगले बनेको संवैधानिक सरकार होइन। यो षडयन्त्रबाट बनेको परमादेशी सरकार हो', उनले भने।
ओली प्रधानमन्त्री छँदा दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि सर्वोच्च अदालतले संवैधानिक इजलासमा सुनुवाइ गर्दै गत असार २८ गते सो विघटनलाई बदर गरिएको थियो। साथै, शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।