काठमाडौं– टोस्टमास्टर्स नेपालको चौंथो वार्षिक डिभिजन सम्मेलन आगामी २६ गते शनिबार ठमेलको अलफ्ट होटेलमा आयोजना गरिने भएको छ।
उक्त दिन बिहान ८ बजेदेखि बेलुकी ५:३० बजेसम्म हुने उक्त सम्मेलनमा नेपालभरका कर्पोरेट, व्यावसायिक संगठन र अन्य समुदायका करीब ४५० जना सदस्यहरू उपस्थित हुने बताइएको छ।
यो कार्यक्रमको मुख्य आकर्षण ह्युमरस स्पिच प्रस्तुति रहेको छ। जसमा विभिन्न तीन वटा डिभिजनका प्रतिनिधिहरूले ह्युमरस स्पिच कसरी दिने भन्ने विषयमा प्रस्तुति दिने छन्।
टोस्टमास्टर्स नेपालले हरेक वर्ष एक जना गैरटोस्टमास्टरलाई उनको सञ्चार र नेतृत्व क्षमताका लागि ‘दि कम्युनिकेटर अवार्ड’प्रदान गर्दै आएको छ। कार्यक्रममा टोस्टमास्टर्स सदस्यहरूले आफ्नो गायन तथा सांस्कृतिक प्रतिभा प्रदर्शन गर्ने छन्।
सन् १९९१ मा काठमाडौं टोस्टमास्टर्स क्लबाट शुरुवात भएको टोस्टमास्टर्समा सन् २०१७ सम्म पहिलो कर्पोरेट क्लब–लक्ष्मी बैंक टोस्टमास्टर्स क्लब लगायत ८ वटा क्लब मात्र थियो। त्यसपश्चात् डिस्ट्रिक्ट ४१ को हिस्सा भएकाले विगतका केही वर्ष यता क्लबहरु विस्तारको क्रम बढ्दो रहेको छ।
बैंक, शैक्षिक संस्था, पर्यटन उद्यमी, चाटर्ड एकाउन्टेन्ट, शिक्षक, महिला, उद्यमी र अन्य कार्यरत व्यवसायी गरेर हाल ५२ वटा क्लब र १३०० भन्दा बढी सदस्यहरू रहेका छन्।
‘नेपालले डिस्ट्रिक्ट ४१ टोस्ट्मास्टर्स पहिलोचोटी आयोजना गर्दैछ र साइटेशन २०२२ को उत्तर र पूर्वी भारत तथा बंगलादेश जस्ता सदस्य राष्ट्रहरूले उत्साहको साथ प्रतीक्षा गरिरहेका छन्,’ डिस्ट्रिक्ट ४१ का डिस्ट्रिक्ट डिरेक्टर डीटीएम रञ्जित आचार्यले भने, ‘यो सम्मेलनले सम्पूर्ण नेपाली टोस्टमास्टर्सहरूलाई एकताबद्ध गर्नेछ।’
त्यस्तै, डिस्ट्रिक्ट ४१ को क्लब ग्रोथ डिरेक्टर डीटीएम सुमन शाक्यले भने, ‘साइटेशन २०२२ टोस्टमास्टर्स काठमाडौंका सदस्यहरूका लागि मात्र नभएर पोखरा, चितवन, वीरगञ्ज, बुटवल, भैरहवा, धरान र झापाका टोस्टमास्टरहरूका लागि पनि सिक्ने, सञ्जाल विस्तार गर्ने र आफ्नो व्यक्तित्व विकास गर्ने सुनौलो अवसर हुने छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।