काठमाडौं– स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक बसिरहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमण गरेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक बसेको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे छलफल भइरहेको एक नेताले बताए।
आजको बैठकले स्थानीय तहमा हुने चुनावी तालमेलको मोडालिटी टुंग्याउने उनको भनाइ छ। यसअघि चैत १७ गते बसेको गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो।
बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका संघीइ परिषद् अध्यक्ष बाबुराम भट्टराईलगायत गठबन्धनका शीर्ष नेताहरु सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।