काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छेहरुले नबुझेका कारण 'वामपन्थी हुन सक्दिनँ' भन्ने गरेको बताएका छन्। उनले 'वामपन्थी भनेपछि मान्छेले प्रचण्ड सम्झिन्छन्, अनि कसरी हुन्छ!' भन्ने गुनासो पनि गरे।
ओलीले प्रचण्ड कम्युनिस्ट हुन् भने आफू नभएको र आफू कम्युनिस्ट हो भने प्रचण्ड नभएको बताए। 'म कम्युनिस्ट हुँदा, प्रचण्ड कम्युनिस्ट हुनै सक्दैनन्। त्यो सम्भव नै छैन। दुइटा एउटै कुरा कसरी हुन्छ। उहाँ अकारण देशमा द्वन्द्व मच्चाउनुहुन्छ। म शान्तिको पक्षमा हुन्छु। उहाँ जातजातमा भिडाउन खोज्नुहुन्छ मान्छेलाई। म मिलाउन खोज्छु', सोमबार प्रगतिशील इन्जिनियर्स एसोसिएसन नेपालको कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने।
आफू र प्रचण्डलाई तुलना गर्दै ओलीले थपे- 'उहाँ मधेस र पहाडको लडाइँ लडाउन खोज्नुहुन्छ। म शान्ति कायम गरेर मेलमिलापसँग अगाडि बढ्नुपर्छ, हामी सबै नेपाली हौँ भन्छु। सबैलाई अधिकार समान दिनुपर्छ भन्छु। उहाँले यो र त्यो धर्म भनेर अनेकथरी झडप गराउन खोज्नुहुन्छ। घृणाको खेती लगाउन खोज्नुहुन्छ। म त्यो गर्दिनँ।'
प्रचण्डले वामपन्थी आन्दोलन कमजोर पार्नका लागि काम गरेको र आफूले मजबुत बनाउनका लागि काम गरेको ओलीको दाबी छ। 'उहाँ भत्काउने काम गर्नुहुन्छ, म बनाउने काम गर्छु। मैले एकता गराउने काम गरेँ। उहाँ फुटाएर हिँड्नुभयो', उनले भने।
ओलीले पार्टी एकताको बेलामा प्रचण्डलाई बलजफ्ती समातेर ल्याएको बताए। तर, अब त ठीकै होला भनेर छोड्दाखेर प्रचण्ड ढोकाबाट भागेको ओलीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।