काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोट २०२२ को प्लेअफ अन्तर्गत भोलि (मंगलबार) श्रीलंकन क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दैछ।खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुका ५ बजे सुरु हुनेछ।
मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो। अघिल्लो पटक क्लब लाइसेन्स नभएको कारण मछिन्द्रले छनोट खेल्ने मौका गुमाएको थियो। मछिन्द्रको स्थानमा त्रिभुवन आर्मी क्लबले खेलेको थियो।
ब्लु स्टारसँग खेल्नुअघि मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले आफूहरुको लक्ष्य एएफसी कपको समूह चरणसम्म पुग्नु रहेको बताए। मछिन्द्रले त्यहिँ अनुसार तयारी गरेको उनको भनाइ छ।
‘घरेलु मैदानमा खेल छ। अन्तर्राष्ट्रिय खेल हो दबाब पनि छ। तर, दबाबलाई पन्छाएर समूह चरणको लक्ष्य छ,’ उनले भने, ‘हामी समूह चरणसम्म पुग्यौं भने नेपाली फुटबलको लागि राम्रो हो। हामी सक्षम पनि छौं। त्यसको लागि लक्ष्य बनाएका छौं।'
प्रशिक्षक कटवालले विपक्षी टोली राम्रो रहेको समेत बताए। उनले आफ्नो टोलीका परिवर्तन नभएको समेत बताए। ‘लिग खेलका २४ खेलाडी नै हाम्रो टोलीमा छन्, कुनै परिवर्तन छैन। अहिले श्रीलंकाको लिग राम्रो चलिरहेको छैन। ब्लु स्टार त्यसको च्याम्पियन हो। उनीहरुको खेल हेरेको छु, राम्रो खेलेको छ विपक्षी टिम राम्रो छ,’ उनले भने।
यता, मछिन्द्रका मुख्य खेलाडी सुनिल बल घाइते भएका थिए। तर, अहिले उनी ठिक भइसकेको प्रशिक्षक कटुवालले बताए। ‘सुनिल घाइते भएका थिए। यस ग्यापमा उनी रिकभर भइसकेका छन्। तर, पुरानो लय आउँछ आउँदैन हेर्न बाँकी छ,’ उनले भने।
मछिन्द्रका कप्तान सुजल श्रेष्ठले टोलीको लक्ष्य दोस्रो चरण भन्दा माथि पुग्ने रहेको बताए। ‘सहिद स्मारक ए डिभिजन लिग सुरू हुँदा नै हाम्रो लक्ष्य एएफसी खेल्ने थियो। त्यस हामी सफल भयौं,’ उनले भने,’ हाम्रो तयारी राम्रो भएको छ। दोस्रो चरणभन्दा माथि जाने लक्ष्य छ।’ यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ। उक्त खेल अप्रिल १२ मा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।