काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले कसैसँग गठबन्धन नगर्ने बताएका छन्। प्रेस चौतारी नेपाल चितवनले आइतबार बिहान भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
‘यो निर्वाचनमा कसैसँग गठबन्धन गरेर जाने भन्ने पार्टीको नीति नै छैन,’ उनले भने, ‘झन माओवादी केन्द्रसँग हुने कुरै भएन, जसले पार्टी विभाजन गरेर नेपाली कांग्रेसलाई कम्युनिष्ट नेतृत्वको सरकार बुझाउने अपराध कर्म गरे उनीहरुसँग गठबन्धन गर्ने भन्ने कुरो नै हुँदैन।’
एमाले र माओवादी केन्द्रका नेताहरुबीच भेटघाट भइरहेको छ नि भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा पोखरेलले राजनीतिक रुपमा केही नेताहरुले भेट्नु अनौठो नभएको बताए।
उनले स्थानीय आवश्यकता अनुसार कही सहकार्य गरेर जाने विषय हुन सके पनि गठबन्धन गरेर चुनावमा जाने भन्ने पार्टीको कुनै निर्णय नै नरहेको बताए।
उनले सुरुवातमै स्थानीय तहको निर्वाचन नगर्ने र सार्नेलगायतका प्रयास भए पनि एमालेको जनदबाबले त्यो हुन नसकेको बताए। उनले परमादेशी सेटिङले निर्वाचन आयोग पनि प्रभावित हुन सक्ने भन्दै त्यसका केही संकेत देखिएको बताए।
‘चुनाव एकै दिनमा हुने र मनोनयन दर्ताको समय दुई दिन राखिएको छ। मतपत्रमा हरियो रङ राख्ने भनिएको छ,’ उनले भने, ‘यो सबै आयोग प्रभावित भएको भन्न सकिन्छ। यी विषयमा राजनीतिक दलहरुसँग आयोगले कुनै पनि छलफल नै गरेन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।