काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले देशमा शोषित, पीडितको अधिकार प्राप्त नभएसम्म जनता समाजवादी पार्टीले अधिकारको राजनीतिक लडाइ लडी रहने बताएका छन्।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपामा आइतबार सडक आज शिलान्यास गर्ने क्रममा उनले जनता समाजवादी पार्टी मधेसी, मुस्लिम तथा शोषित उत्पीडितका लागि लड्दै आइरहेको बताए। राज्य पक्षसँग राजनीतिक अधिकारको लडाइ अहिले पनि जारी रहेको बताउँदै उनले विभेदमा परेको सम्पूर्ण नेपालीहरूका अधिकार प्राप्त नहुञ्जेलसम्म आफू लडाइबाट पछि नहट्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
सो अवसरमा भौतिक, योजना तथा यातायातमन्त्री रेणुकुमारी यादवले सप्तरीवासीले ४० वर्षसम्म नदेखेको विकास जसपाले गत चार वर्षमा गरेको दाबी गरिन्। सप्तरीका जनता सदैव सडक, शिक्षा र स्वास्थ्य सुविधाबाट वञ्चित रहेको विषयलाई जसपाले आत्मसात गरेको बताउँदै उनले अहिले सप्तरीमा सडक, शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापक विकास भएको बताइन्।
मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्र साहले जसपाले होहल्ला नगरी जनचाहनाअनुसार विकास गरेको बताउँदै आगामी दिनमा विकासको कार्यलाई प्राथमिकतामा राखेर जनहितमा कार्य गर्ने बताए।
प्रदेश सांसद मनिष सुमनले अगामी वैशाख ३० गते हुन लागेको स्थानीय निकायको निर्वाचनमा जसपाका उम्मेदवारलाई मत दिई विकास निर्माणको कार्यमा थप तीव्रता दिन आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।