काठमाडौं– परराष्ट्रमन्त्री नारायण खड्काले भारत भ्रमणका क्रममा भारतीय सत्तारुढ दल भाजपाको मुख्यालय पुगेको विषयलाई कूटनीतिक मर्यादा विपरीत भएको भनेर भन्न नमिल्ने बताएका छन्।
देउवा भाजपा मुख्यालय पुगेको विषयलाई कूटनीतिक मर्यादा विपरीत भएको भनेर भन्ने टिप्पणी ठिक नभएको पनि खड्काको भनाइ छ।
देउवासँगै भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री खड्काले देउवा नेपाली कांग्रेस पार्टीको सभापति समेत भएका कारण पार्टी–टु–पार्टी सम्बन्ध विस्तारका लागि भाजपा मुख्यालय पुगेको जिकिर गरे।
स्वदेश फर्किएपछि आइतबार बेलुका त्रिभुवन विमानस्थलमा आफूलाई यसबारे सोधिएको प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले विभिन्न देशका पार्टीसँग कांग्रेसको सम्बन्ध भएको बताए।
'कूटनीतिक मर्यादाभित्र नरहेको भन्ने कुरा ठीक खालको धारणा होइन। नेपाली कांग्रेसको सभापति पनि भएको पनि नाताले नेपाली कांग्रेसले अन्य विभिन्न देशका पार्टीसँग पनि मैत्रीपूर्ण सम्बन्ध राख्दै आएको छ। जस्तो, चीनको कम्युनिस्ट पार्टीसँग पनि नेपाली कांग्रेसको राम्रो सम्बन्ध छ, पार्टी-टु-पार्टी। त्यस्तै गरेर भारतको कांग्रेस पार्टीसँग पनि छ। भारतीय जनता पार्टीको कार्यालयमा उहाँ प्रधानमन्त्रीको हिसाबले जानुभएको होइन। उहाँ सभापति भएको नाताले पार्टी-टु-पार्टी सम्बन्धलाई विस्तार गर्न र कायम गर्नका लागि बीजेपीको हेडक्वार्टर जानुभएको हो', खड्काको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।